INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचार संहिता विपरित प्रचारको होडबाजी

निर्वाचन प्रचार प्रसार र सभाको चरण सुरु भएपछि दलहरूले रातारात सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याएर गाउँशहरको रुवरुप नै बिगारेका छन् ।

गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन भएको स्थानीयवासी बताउँछन् ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।

निर्वाचनमा होमिएका सप्तरीका अधिकाँश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र अधिकाँश बिजुलीको खम्बामा प्रचार प्रसार सामाग्री टाँगेका छन् ।

निर्वाचनका क्रममा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य समय र स्थलमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न आचार संहिताले बन्देज लगाएको छ ।

तर, सप्तरीमा डिजे बाजा, लाउडस्पिकरमा चुनावी गीत, नारा, जिंगल घन्काउँदै गाउँशहर परिक्रमा भइरहेको छ । राप्रपा नेपालले निर्वाचन क्षेत्र नम्बर १ मा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरिरहेको छ ।

उम्मेदवार र कार्यकर्ताहरू पार्टीको चुनाव चिह्न अंकित स्टिकर, व्याच, लोगो लगाएर आमसभा, जुलुस, घरदैलो, भेटघाटमा सहभागी बनेको देखिएको छ ।

कर्मचारी, शिक्षक, सञ्चारकर्मीले समेत सामाजिक सञ्जालमा उम्मेदवार र चुनाव चिन्हको प्रचार गर्दै मत मागिरहेका छन् ।

निर्वाचनमा होमिएका राजनैतिक दलका नेतासँगै मत माग्ने भेलावैठकमा कर्मचारी र शिक्षकहरू पनि संलग्न रहेको पाइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण नै मागेको थियो ।

भड्किलो प्रचार शैली नअपनाउन र आचार संहिताको पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा दलका नेता, उम्मेदवार र प्रतिनिधिले प्रतिबद्धता जनाए पनि चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुले आचार संहिताको बेवास्ता गर्न थालेको उम्मेदवारहरु कै भनाई छ ।

देखासिकीले होडबाजी भएको भन्दै राप्रपा नेपालका हजरत अलीले निर्वाचन आचार संहिता विपरितका सामाग्री आरम्भमै नियन्त्रण लिनुपर्नेमा जोड दिनु भयो ।

एक अर्काको देखासिकीले सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले प्रचार शैली भड्किलो बनाउँदै लगेकोले अनुगमन र नियमन हुन जरुरी रहेको नेपाली जनता दलकी चन्द्रकुमारी देवले माग गर्नु भयो ।

चुनावी प्रचार–प्रसारका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन भइरहेको उजुरी आइरहेको र निगरानी समेत भइरहेको जानकारी दिनुहुँदै सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनको निष्ठालाई जोगाएर निर्वाचन आचार संहिताको पालना गर्न सबैसँग आग्रह गर्नु भयो ।

रावलले उल्लङ्घनको तथ्य फेला परेमा उम्मेदवारलाई आग्रह गर्ने, सावधान र सचेत गराउने तथा कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिश गर्ने कार्य पनि भइरहेको बताउनु भयो ।

f

f

अन्य

भिडियो