INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेस उम्मेदवार जोशीसहित पर्वतका ६ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सहित ६ जनालाई एकै दिन कात्तिक १५ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जोशीलाई पर्वतको कुश्मा नगरपालिका १४ आर्थरस्थित पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो भने सोही विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटालाई कार्यक्रम सञ्चालन गर्न दिनुको कारण के हो भन्ने प्रश्न गर्दै स्पष्टिकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ कुरा उल्लेख गरिएको छ ।

आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ उल्लेख गरिएको छ । सोही बमोजिम स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्य र कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरीका आधारमा निर्वाचन आचारसंहिताको दफा ५, को खण्ड क बमोजिम कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगले उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली काँग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंले आफ्नो स्थानीय तहभित्र राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिबाना किन गर्नु नपर्ने हो ?’

निर्वाचन आयोगले पर्वतको कुश्मा नगरपालिकास्थित नारायण माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको छ ।

आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

सुवेदीलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिताको दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ ।

स्पष्टीकरण सोधिएका ६ जनालाई नै आयोगले २४ घण्टा भित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमा लिखित जबाफ पेश गर्नका लागि समेत अनुरोध गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

अन्य

भिडियो