निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको हो होइन भन्ने विषयमा स्पष्टीकरण दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले नेकपा एमालेबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका प्रतिनिधि सभा सदस्य हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
गत असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएपछि नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले धौलागिरी गाउँपालिका–४, खिबाङको जनसुधार युवा क्लबलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको भन्दै नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २०७९ कार्तिक १३ गते उजुरी दिनुभएको थियो ।
उक्त उजुरीउपर छलफलपछि २०७९ कार्तिक १४ गते दिउँसो साढे ३ बजे २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले पत्राचार गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो ।
भण्डारीले एमालेका प्रदेश सभा (ख)का एमाले उम्मेदवार यामबहादुर गर्बुजाले मालिका गाउँपालिका–३, रुममा चामल बाँडेको भन्दै उजुरी गरेको आधारमा गर्बुजालाई पनि स्पष्टीकरण सोधिएको मुख्य निर्वाचन अधिृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठको नामको पत्र प्रमोद श्रेष्ठ र यामबहादुर गर्बुजाको नामको पत्र सन्तोष रावललाई २०७९ कार्तिक १४ गते दिउँसो साढे ३ बजे बुझाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयले निर्वाचन आचारसंहिता–२०७९ र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका–२०७९ को अनुसुची–६ बमोजिम गरिएको स्व–घोषणाको प्रतिकुल हुने गरी कार्य नभएको पुष्ट्याईँ गर्ने आधार पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।
साथै निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कार्वाही किन गर्न नपर्ने कारण खुलाउन पनि निर्देशन दिएको छ ।
त्यस्तै नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार खमबहादुर गर्बुजा, माओवादी केन्द्रका प्रदेश सभा (क)का उम्मेदवार हरिबहादुर भण्डारी र (ख)का उम्मेदवार रेशम जुग्जालीको बिरुद्धमा पनि निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदाता प्रभावित पार्न चन्दा सहयोग गरेको र टिसर्टमा चुनाव चिन्ह र झण्डा अङ्कित गरी बाँडेको प्रमाण सहित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
गठबन्धनका उम्मेदवारको विरुद्ध उजुरी परेको भए पनि मुख्य निर्वाचन अधिकृत मतदानस्थलको अनुगमनका लागि मतदान केन्द्रमा पुगेको हुनाले उजुरीको विषयमा निर्णय हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।