आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा प्रदेशका जिल्ला कारागारमा रहेका ८ सय बढी कैदीबन्दीले मतदान दिने भएका छन् ।
जिल्ला कारागारमा रहेका ८ सय ६४ जना कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
०७९ असार १४ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशपछि निर्वाचन आयोगले ०७९ असार १ गतेदेखि ०७९ साउन १९ गते सङ्कलन तथा अद्यावाधिक गरेको विवरणका आधार आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कैदीबन्दीले मतदान दिन पाउने प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।
नेपालको संविधानको प्रस्तावनामा बालिग मताधिकारप्रति प्रतिबद्ध रही राष्ट्रको निर्माण गर्ने तथा संविधानमा व्यवस्था गरिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको साथै कैद सजाय भइ कारागारमा बस्दैमा सबै मौलिक हकहरू स्वतः स्थगन वा निलम्बिन हुन्छ भन्ने नभएको सर्वोच्चको आदेश छ ।
वि.स. ०६४ र ०७० पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सरकारी सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकु, कारागारमा रहेका कैदी वा थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको र मतदान अधिकार दिइएको थियो ।
नेपालले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ लाई विस०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।
सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।
नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्ला कारागारमा रहेका ४६ जना कैदीबन्दीले समानुपातिकतर्फ मतदात दिने छन् । कारागारमा रहेकामध्ये ४६ जना कैदी तथा बन्दीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक निर्वाचनका लागि मतदान दिने निमित्त कारागार प्रमुख महमद अप्सरले बताउनु भयो । मतदान गर्ने कैदी र बन्दीको सङ्ख्या छुट्टयाउन बाँकी रहेको अप्सरको भनाइ छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले कारागार र तोक्मेडाँडा हटिया गरी दुई ओटा अस्थायी मतदान केन्द्र थप गरिएको छ । यसअघि ७५ ओटा मतदानस्थलअन्तर्गत १ सय २३ ओटा मतदान केन्द्र तय गरिएको थियो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार मङ्सिर ४ गते हुने निर्वाचनका लागि कारागारका ६२ जना कैदीबन्दीले मतदान दिने भएका छन् । फोटोसहितको मतदाता नामावलीमा नाम भएका ६२ कैदीबन्दी मतदान दिने जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनु भयो । जिल्ला निर्वाचन अधिकारी निरौलाका अनुसार चार जना महिला र ५८ पुरूष कैदीबन्दीले अस्थायी मतदान केन्द्र कारागार बाट मतदान दिनेछन् । हाल जिल्ला कारागारमा १ सय ३० जना पुरूष, आठ जना महिला र दुई जना बालिकासहित १ सय ४० जना कैदीबन्दी रहेको प्रमुख जेलर विनोद अधिकारीले बताउनु भयो । ६२ जना मतदाता रहेको अस्थायी मतदान केन्द्र कारागारमा पूर्वाधार विकास कार्यालयका प्रमुख शैलेन्द्र सिंलाई मतदान अधिकृत जिम्मेवारी दिइएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई ओटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ३ ओटा मतदानस्थलमध्ये आठ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील, ८२ ओटा मतदानस्थल सम्वेदनशील र १८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्ला कारागारमा रहेका मध्ये ४८ जना कैदीबन्दीले सामुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान दिने भएका छन् । कारागारमा रहेका कूल ९१ जना कैदीबन्दीमध्ये फोटोसहितको मतदाता नामावलीमा नाम भएका ४८ जना कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर नेत्र श्रेष्ठले बताउनु भयो । कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । सात जना महिला र ४१ जना पुरूष गरी ४८ जनाले मतदान गर्ने कारागार प्रमुख प्रशान्त महतले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । जिल्लामा ४८ कैदीबन्दीसहित ५ सय २५ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउने छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागारबाट २५ जनाले मतदान दिने भएका छन् । कारागारमा अहिले कैदीबन्दी गरी ९१ जना छन् । जसमा कैदी ५८ जना र बन्दी ३३ जना छन् । निर्वाचनमा मतदान गर्न पाउनेमा १५ जना कैदी र १० जना बन्दी रहेको जिल्ला कारागार कार्यालयले जनाएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्ला कारागारमा रहेका १ सय १९ जना कैदीबन्दीमध्ये ४४ जनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिने भएका छन् । निर्वाचन आयोगको मादपण्ड पुगेका कैदी तथा बन्दीले मतदान दिन पाउने भएको कारागारका सूचना अधिकारी चन्द्रप्रसाद आचार्यले बताउनु भयो । ४४ जनाले मतदान दिने भएपनि कति कैदी र कति बन्दी सो छुट्टयाउन बाँकी रहेको सूचना अधिकारी आचार्यले बताउनु भयो । कैदी र बन्दीका लागि कारागारमै मतदान दिन पाउने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले बताउनु भयो ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका ६० जनाले मतदान दिन पाउने भएका छन् । चार जना महिला र ८९ जना पुरूष गरी कारागारमा ९३ जना छन् । कारागारमा रहेका मध्ये एक जना महिला र ५९ जना पुरूष गरी ६० जनाले मतदान दिने जिल्ला कारागारका प्रमुख अनिलकुमार खड्काले बताउनु भयो । कैदीबन्दीहरूलाई मतदान गर्नको लागि कागार भित्र अस्थायी मतदान केन्द्र तोकिएको सहायक निर्वाच अधिकृत नवराज कार्कीले बताउनु भयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका ४२ जना कैदीबन्दीले मतदान दिने भएका छन् । जिल्ला कारागारमा रहेका ४२ जना पुरूष कैदीबन्दीले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताउनु भयो । कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान दिने छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्ला कारागारमा अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्ला कारागारमा ५० जना कैदी र ३८ थुनुवा गरी ८८ जना कैदीबन्दी रहेको जिल्ला कारागारका प्रमुख शिव श्रेष्ठले बताउनु भयो ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका जिल्ला कारागारमा रहेका ८२ जना कैदीबन्दीमध्ये ४० जना कैदीबन्दीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाच प्रणालीतर्फ मतदान दिन पाउने भएका छन् ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागारमा रहेका ४३ जना कैदीबन्दीले मतदान दिने भएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारमा रहेका १ सय ३६ जना कैदीबन्दीमध्ये २१ जना पुरूष र दुई जना महिला कैदी र २० जना पुरूष बन्दी गरी ४३ जनाले मतदान दिने कारागारका जेलर सुरेन्द्र मुखियाले बताउनु भयो । कारागारमा अहिले ६३ जना पुरूष र पाँच जना महिला कैदी र ६४ जना पुरूष र चार जना महिला बन्दी गरी १ सय ३६ जना कैदीबन्दी छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा १ हजार ८ सय १४ जना अस्थायी मतदाता छन् । जसमध्ये ४३ जना कैदीबन्दी र अन्य कर्मचारी छन् । कारागारका कैदीबन्दीका लाथि फिदिम नगरपालिका र सामदिनमा गरी दुई ओटा मतदान केन्द्र राखिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराइले बताउनु भयो । अदालतको आदेश अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अस्थायी मतदाताले सङ्घको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्ला कारागारमा रहेका २ सय ७१ जना कैदीबन्दीमध्ये ६१ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएका छन् । कारागारका जेलर सुमित मगरले कारागारभित्रै अस्थायी मतदान केन्द्रको व्यवस्था गरी कैदीबन्दीलाई मतदानको अधिकार सुनिश्चित गरिएको बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागारमा रहेका १ हजार ३ सय ५१ जना पुरूष र ७१ जना महिला कैदीबन्दीमध्ये १ सय ४८ जना कैदीबन्दीले प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान दिने भएका छन् । निर्वाचन आयोगको मापदण्डभित्र परेका १ सय ४८ जनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने जिल्ला कारागारका जेलर मोहनलाल पनेरुले बताउनु भयो । उहाँले मतदान दिनेमध्ये कैदी र बन्दीको सङ्ख्या छुट्टयाउन बाँकी रहेको बताउनु भयो ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्ला कारागारमा रहेका ९ सय बढी कैदीबन्दीमध्ये १ सय ८७ जनाले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिन पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङ कारागारका अन्तिम मतदाता नामावलीमा नाम भएका १ सय ८७ कैदीबन्दीले निर्वाचनमा मतदान दिन पाउने भएका हुन् । कारागारमा ९ सय बढी कैदी बन्दीरहे पनि अन्तिम मतदाता नामावलीमा नाम भएकाहरूले मात्रै मतदान गर्न पाउने भएकाले थोरै कैदीबन्दी मात्रै मतदानका लागि योग्य देखिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कारागारका कैदीबन्दीका लागि कारागार भित्रै अस्थायी मतदानस्थल तोकिएको र मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताउनु भयो । उहाँले निर्वाचनमा नखटिएका कर्मचारीहरूका लागि विराटनगरस्थित आदर्श पुस्तकालय र निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि सम्बन्धित मतदान केन्द्रमै मतदानको व्यवस्था मिलाइएको बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्रीय कारागार झुम्का रहेका १ हजार ८ सय ३ जना कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने भएका छन् । ५८ जनामध्ये ३९ जना कैदी र १९ जना बन्दीले कारागारभित्रै अस्थायी मतदान केन्द्रबाट मतदान दिने जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भयो । कारागारमा पुरूष कैदी तथा बन्दीलाई राखिने गरेको छ । जिल्लामा ५ लाख ४४ हजार ५ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्ला कारागारमा रहेका ६२ जना कैदीबन्दीले समानुपातिकतर्फ मतदान दिने भएका छन् । सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा कैदी बन्दीहरूलाई भोट हाल्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेसँगै कैदीबन्दीको मताधिकारको बाटो खुलेको हो । मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागारमा रहेका ६१ जना पुरूष र एक जना महिलाले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान दिन पाउने भएका हुन् । मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीहरूलाई जिल्ला कारागारमै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले बताउनु भयो । हाल जिल्ला कारागारमा १ सय ३० जना कैदी र ९५ जना बन्दी गरी २ सय २५ जना कैदीबन्दी रहेको कारागार प्रमुख डिगम कार्कीले बताउनु भयो । १ सय २४ जना पुरूष र ६ जना महिला कैदीहरू रहेका छन् । ९३ जना पुरूष र दुई जना महिला बन्दी छन् । जिल्लामा २ लाख २८ हजार ९ सय ४६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।