INSEC Online

📅 २०८३ जेष्ठ २१

आचार संहिता विपरित चुनावी कार्यक्रममा बालिकाको प्रयोग

गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट बहालवाला गृहमन्त्री बालकृष्ण खाण र प्रदेशसभा क्षेत्र नम्बर ३ क बाट लोसपाका सन्तोष पाण्डे उम्मेदवार रहेको कार्यक्रममा बालिकाको प्रयोग गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने छुट कसैलाई नहुने भनिरहँदा गृहमन्त्री उपस्थित भैरहवामा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रममा आचारसंहिता विपरीतका गतिविधिसँगै बालबालिकाको प्रयोग भएको पाइएको हो ।

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनले कात्तिक १६ गते निर्वाचन क्षेत्र नम्बर अन्तर्गत सिद्धार्थनगर नपा–७ को प्रचार प्रसार कार्यालय उद्घघाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डासहित नृत्यमा प्रयोग गरेका छन् ।

स्थानीय सनसाइन स्कुलमा अध्ययनरत बालिकाले गृहमन्त्री बालकृष्ण खाँण प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस जिन्दावाद नामक गीतमा रुख चिह्न अंकित झण्डासहित नृत्यमा सहभागी गराइएको थियो ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड (ट) मा राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठन तथा सम्बन्धित् व्यक्तिले निर्वाचन प्रचार प्रसार,आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन अंकित चिह्न वा झण्डा बोक्न नहुने भनिए पनि गृहमन्त्री नै सहभागी भएको कार्यक्रममा बालिकाले झण्डासहित नेपाली काङ्ग्रेस जिन्दावाद भन्दै नृत्य गरेर आचार संहिता उल्लंघन गरिएको छ ।

यस्तै पाँच दलीय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचार संहिता विपरीत गाडीमा उम्मेदवारको फोटोसहितको व्यानर लगाई साउण्ड बाजासहित प्रचार प्रसारमा रहेका छन् ।

आचार संहिताको परिच्छेद ४ को खण्ड १३ (ण)मा प्रचार प्रसारमा बाजा, गाजासहित जान नहुने उल्लेख छ । तर, उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै हिँडेका छन् ।

यसैगरी, जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचार संहिता विपरीत पोल र भित्तामा पोस्टर र व्यानर लगाएको पाइएको छ ।

आचार संहिताको परिच्छेद ४ दफा १३ (ज) मा निजी घरजग्गा वा सार्बजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टास्न पाइँदैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचार संहिताको उल्लंघन भए प्रमाणका साथ लिखित उजुरी गर्न सकिने व्यवस्था रहेको र अहिलेसम्म कुनै उजुरी नआएको बताउनु भयो ।

निर्वाचन आचार संहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले कात्तिक १७ गते बालिकाको प्रयोग भएको फोटो र भिडियोलाई आयोगमा पठाएको बताउनु भयो ।

अन्य

भिडियो