निर्वाचन आयोगले कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ ।
राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा आयोगले यादवसँग स्पष्टीकरण मागेको निर्वाचन आयोगले जनाएको छ । यादवविरुद्ध सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरणमा भनिएको छ–‘उल्लेखित सन्दर्भमा तपाइँले दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवासम्बन्धी कानून समेतको उल्लङ्घन हुने भएकोले तपाइँलाई प्रचलित कानून बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सप्तरीमा स्पष्टीकरण पेश गर्न अनुरोध गर्दै थप लेखिएको छ,–‘अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन निषेध गरिएको छ ।