आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ विरूद्ध देशभर २३ ओटा समूह निर्वाचनविरोधी गतिविधिमा क्रियाशील हुन सक्ने गृह मन्त्रालयले जनाएको छ ।
प्रदेश १, गृह मन्त्रालयले कात्तिक १९ गते आयोजना गरेको निर्वाचन सुरक्षासम्बन्धी प्रदेशस्तरी सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फाणिन्द्रमणि पोखरेलले निर्वाचनविरूद्ध देशभर २३ ओटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निश्कर्ष निकालेको बताउनु भयो । प्रवक्ता पोखरेलले देशभर पाँच—सात जनाको समूह देखि धेरै सङ्ख्याका समूह पनि निर्वाचनविरूद्ध सक्रिय रहेको मन्त्रालयको निश्कर्ष भएको बताउनु भयो ।
निर्वाचनको सुरक्षा र प्रदेश १, को समग्र सुरक्षा व्यवस्थालाई लक्षित गरी आयोजित गोष्ठीमा प्रवक्ता पोखरेलले निर्वाचन विरोधी र विथोल्ने उद्देश्यले सक्रिय समूहको गतिविधि नियन्त्रण मुख्य सुरक्षा चुनौती रहेको बताउनु भयो । उहाँले देशभर सक्रिय २३ ओटा समूहका गतिविधि नियन्त्रणमा ध्यान दिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको बताउनु भयो ।
प्रवक्ता पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनका लागि तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको प्रवक्ता पोखरेलले बताउनु भयो ।
गृह मन्त्रालयका प्रवक्ता पोखरेलले यो पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन देशैभर एकै चरणमा हुने भएकाले उमेदवारहरूका लागि पिएसओ’हरू भने दिन नसकिने बताउनु भयो ।
‘सबै उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र आम मतदातालाई सामूहिक सुरक्षाको व्यवस्था गरेको गरिएको छ ।’ गृह मन्त्रालयले जनाएको छ ।
प्रदेश १, १४ ओटै जिल्लामा जिल्ला सुरक्षा योजना र ढुवानी योजना तयार भइसकेको, मतदानस्थलको वर्गीकरण गरिसकिएको छ ।
म्यादी प्रहरीलाई उपलब्ध गराइने सेवा सुविधा सरकारले तोके अनुसार उपलब्ध गराउन र म्यादी प्रहरीलाई असल व्यवहार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई मध्यनजर गरेर हतियार बुझाउने म्याद दिइएको र म्याद सकिए पनि कोही हतियार बुझाउन आए हतियार बुझ्न आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले बताउनु भयो । लाइसेन्स प्राप्त हतियार पनि बोकेर हिड्न नपाइने प्रवक्ता पोखरेलको भनाइ छ ।
प्रदेशस्तरीय सुरक्षा बैठकको उद्घाटन गर्दै प्रदेश १, का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजबुद बनाउन सुरक्षा निकाय सक्रिय रहेको र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रदेश सरकारको ध्यान केन्द्रीत भएको बताउनु भयो ।
बैठकमा प्रदेश १ का १४ ओटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको समग्र सुरक्षा व्यवस्था, चुनौतीहरू र समाधानको उपायबारे ब्रिफिङ् गरेका छन् ।

