INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विशेष कार्यक्रममा झडप, झडपमा एक जना घाइते

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा कात्तिक १८ गते भएको निर्वाचन केन्द्रित बहस कार्यक्रममा कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् ।

प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित बनाउदै आएको मङ्सिर ४ महासङ्ग्राम कार्यक्रममा उपस्थित सहभागिहरूबिच कुर्ची र ढुङ्गा हानाहान गर्दा कोटहीमाई गाउँपालिका–१ सिपवा लालविहारी माविका प्रधानाध्यापक ५९ वर्षीय मुरलीधर शुक्ला घाइते भएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका चार प्रमुख प्रतिस्प्रधीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा निवर्तमान सांसद तथा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रमोद यादव बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो ।

उम्मेदवार यादवले बेथरी, लुम्बिनी र मर्चवारको फोर लेन सडक आफूले ल्याएको भन्दै भाषण गर्नेक्रममा सहभागीहरूले यो बाटो नेकपा एमालेको सरकारले ल्याएको हो हामीलाई कहिलेसम्म मुर्ख बनाउनु हुन्छ ? भन्दै विरोध गरेपछि यादव समर्थक कार्यकर्ताले कुर्ची र इँटा प्रहार गरेको प्रत्यक्षदर्शी समेत रहेका मानव अधिकारकर्मी रामविकास चौधरीले इन्सेक प्रतिलाई बताउनु भयो ।

इँटा प्रहारबाट घाइते भएका शुक्लालाई सोही दिन भीम अस्पताल भैरहवामा उपचार गरिएको थियो । घाइते ओठमा १७ ओटा टाँका लगाइएको छ ।

प्रत्यक्षदर्शी लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले नेपाली काङ्ग्रेसका उम्मेदवार प्रमोद यादव बोल्दा फोर लेनको बाटो बनाउन आफुले पहल गरेको भन्दै गर्दा सहभागी जनताहरुले सरकारले गरेको काममा झुठो बोलेर आफूहरूलाई भ्रममा पारेको भन्दै विरोध जनाएपछि यादवका भाई सनोद यादव र मुकेश यादवले हो हल्ला गदै कुर्ची प्रहार गरेपछि विवाद भएको बताउनु भयो ।

घाइते मुरलीधर शुक्लाले शुक्रवारको दिन छिटो बिदा भएको र साथीले आज ऋषि घमलाको कार्यक्रम छ हेरेर जानु होला भनेर सूचना दिएपछि आफू गएको बताउनु भयो ।

प्रमोद यादव बोल्ने बेला जनताहरुले उठेर जनतालाई ढाँट्ने काम नगर्नुस्, कुर्चीमा बस्दा केही नगर्ने भोट माग्नलाई सरकारले गरेका कामको जस लिने भनेर विरोध गरेपछि कुर्ची हाना हाना हुँदा  एक्कासी आफूलाई ओठमा लागेको बताउनु भयो ।

सञ्चारकर्मी ऋषि धमलाले सञ्चालन गरिरहेको कार्यक्रममा त्यस क्षेत्रका उम्मेदवारहरू नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारीको उपस्थिती रहेको थियो ।

एक चरणमा सबै उम्मेदवारले भनाई राखेपछि दोस्रो चरणमा भनाई राख्ने क्रममा कार्यकर्ताबिच काम गरेको हो होइन भन्ने विषयमा भनाभन भएपछि विवाद चर्किएको थियो ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको र कोटहीमाई गाउँपालिका–१ सिपवास्थित लालविहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्लाको ओठमा चोट लागेको बताउनु भयो ।

अन्य

भिडियो