निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार रहेका कोषराज सुवेदीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज सुवेदीलाई सोधेको स्पष्टीकरण पत्रमा आफ्नो पार्टीको आवद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको विषय उल्लेख छ ।
आयोगले घिमिरेलाई लेखेको पत्रमा उक्त कार्यबाट मङ्सिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमुक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानूनको उल्लंघन समेत भएको हुँदा पत्र प्राप्त भएको २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
त्यस्तै आयोगले सोही पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रतिनिधि सभा क्षेत्र नंबर २ काठमाडौँ कोषराज सुवेदीलाई पनि स्पष्टीकरण सोधेको छ ।
आयोगले सुवेदीलाई लेखेको लेखेको पत्रमा भनिएको छ, ‘तपाइंले आफूलाई अमुक व्यक्तिको समर्थन छ भनि सामाजिक संजालबाट प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित कानुनको उल्लङ्घन समेत भएको देखिएको छ ।
तपाईंको दललाई आयोगबाट यसपूर्व दिइएको निर्देशन विपरीत पुनः सोही कार्य दोहोरिएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु एक लाख रुपैँयासम्म जरिवाना किन गर्नु नपर्ने हो ?
‘यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आयोगमा आफै उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्नुहोला । अन्यथा प्रचलित कानून बमोजिम कारवाही हुने छ ।’
आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचारप्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ञ) मा ‘सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने र खण्ड (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने भन्ने व्यवस्था छ ।

