निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीको माओवादी केन्द्रका प्रदेश सभा (क) का उम्मेदवार हरिबहादुर भण्डारी र प्रदेश सभा (ख) का उम्मेदवार रेशमबहादुृर जुग्जालीलाई कात्तिक १६ गते स्पष्टिकरण सोधेको छ ।
माओवादीका उम्मेदवार भण्डारीले बेनी नगरपालिका–६ को छाप युवा क्लबलाई १० हजार रुपियाँ चन्दा दिएको र जुग्जालीले मालिका गाउँपालिका बिमको साइनिङ युवा क्लबलाई ७ हजार रुपियाँ चन्दा दिएको प्रमाणसहित उजुरी परेकोले २४ घण्टे स्पष्टिकरण सोधेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार खमबहादुर गर्बुजाविरुद्ध पनि उजुरी परेको भए पनि गर्बुजाविरुद्धको उजुरीमा दावी गरिए अनुरुपका आधार नपुगेकोले प्रदेशसभाका उम्मेदवारलाई स्पष्टिकरण सोधिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनु भयो ।
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका प्रतनिधिसभा उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा (क) का उम्मेदवार यामबहादुर गर्बुजालाई पनि २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।