INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन बहिष्कारको चेतावनी

स्थानीय तह सदस्य निर्वाचन ०७९ वैशाख ३० गते मतदान सम्पन्न हुनै लागेका बेला कटारी नगरपालिका–१० को सोरूङ चौविसे मतदान केन्द्रमा गोली चल्यो ।

स्थानीय सोरुङ माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेका अपरान्हृ ४ बजे सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय १८ वर्षीय वीरबहादु कटुवालको घटनास्थलमै ज्यान गयो, गोली प्रहारबाट अर्का १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भए ।

स्थानीयले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र चुनाव पुनः गराउने माग गर्दै तीन दिनसम्म मतदानपत्रले भरिएको बाकस मतदान केन्द्रबाट निकाल्न दिएनन् ।

खसेको मतपत्र सिल गरिरहेकै बेला भएको अचानकको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल तनावग्रस्त बन्यो ।

सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकसहरू सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थपन गरे, तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयले आन्दोलन जारी राख्दै विभिन्न मागहरू अघि सारे ।

स्थानीयको माग सम्बोधनका लागि राज्य तयार भएर पीडित पक्षसँग सम्झौता गर्यो । सोही सम्झौता कार्यान्वयन नभएपछि आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ स्थानीयले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

निर्वाचनमा खटेका प्रहरीको गोली लागेर स्थानीय १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको र १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएको घटनामा न्याय नपाएको भन्दै स्थानीयले चुनाव बहिष्कारको निर्णय गरेका छन् ।

स्थानीय तह चुनाव सकिएको ६ महिना ४ दिनपछि अर्थात् आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि यतिवेला निर्वाचन आयोगलाई सकस भइरहेको छ ।

०७९ वैशाख ३० गते सुरक्षाकर्मीको गोली प्रहारबाट मारिएका र घाइते भएका पीडित परिवारले अहिलेसम्म क्षतिपूर्ति वा राहत पाउन सकेका छैनन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको कटारी नगरपालिका–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनु भयो ।

वडाध्यक्ष, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा, नागरिक समाजका प्रतिनिधि लगायतको साझा बैठकले वैशाख ३० को घटनाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको माग उपर चासो नदिएको निश्कर्ष निकाल्दै माग पुरा नभएसम्म चुनाव हुन नदिने अडान लिएको वडाध्यक्ष खड्काले बताउनु भयो ।

मृतक र पीडित परिवारलाई माग बमोजिम क्षतिपूर्ति र जिम्मेवारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीय सक्रिय हुने निर्णय बैठकले गरेको वडाध्यक्ष खड्काले बताउनु भयो ।

नेपाली कांग्रेस सोरूङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पुरा नगरेसम्म चुनाव हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) देखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत भएको बताउनु भयो ।

त्यसबेला पीडित पक्षलाई उचित क्षतिपूर्ति दिने सहमति गरेर मतगणना गर्न दिएको तर, यतिका दिनसम्म बोलेको बचन राज्यले पुरा नगरेकाले चुनाव बहिस्कार गर्नुपर्ने अवस्थासम्म आएको एमाले नेता दीपक राउतले बताउनु भयो ।

घटनाका सम्बन्धमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णय प्रतिलिपि जिल्ला प्रशासन, जिल्ला प्रहरी, इलाका प्रशासन कटारी, इलाका प्रहरी कटारी, मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाट, २ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय कटारी, सबै राजनीतिक दललाई बुझाइएको छ ।

मतपेटिका सुरक्षित गर्ने नाममा गोली चलाएर नागरिकको ज्यान लिएको तर, अहिलेसम्म क्षतिपूर्ति नदिएकाले आउँदो निर्वाचन सहजै स्वीकार्न नसकिने अडान स्थानीयको छ ।

कटारी नगरपालिका–१० का सबै क्रियाशील राजनीतिक दलको सहभागिता रहेको बैठकले पीडित पक्षलाई क्षतिपूर्ति नदिएकाले निर्वाचन बहिष्कार गर्नैपर्ने सर्वसम्मत निर्णय गरेको छ ।

कटारी नगरपालिका–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले पनि वडावासीको माग, भावना र चाहना अनुसार यतिका दिनसम्म पीडित पक्षले क्षतिपूर्ति नपाएकाले निर्वाचन वहिस्कार गर्नुपर्ने ठहर गरेको बताउनु भयो ।

वडाध्यक्ष खड्काका अनुसार गोली चलेर युवकको ज्यान गएपछि त्यसवेला सरकार र पीडितपक्षबीच पटकपटक वार्ता भएको थियो ।

लामो प्रयासपछि तीन दिनमा भएको सात बुँदे सहमति अनुसार मृतकलाई सहीद घोषणा गर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्ने तथा घाइतेको उपचार र उचित क्षतिपूर्ति तथा मृतक परिवारलाई क्षतिपूर्ति दिनेलगायतका विषयमा सहमति भएको थियो ।

Photo 20220311 Udayapur (2)

माओवादीका स्थानीय नेता कमल राउतले राज्य र पीडितपक्षबीच भएको सहमतिपछि मात्र मतगणना भएको तर, ६ महिना पुग्न लाग्दासम्म कार्यान्वयन नभएपछि असन्तुष्ट पीडित पक्षले निर्वाचन बहिस्कार गर्न खोज्नु स्वभाविक भएको बताउनु भयो ।

राज्यले गरेको सहमति कार्यान्वयनमा नआउँदासम्म मङ्सिर ४ गते निर्वाचन बहिष्कार गर्ने विषयमा कात्तिक २२ गते प्रमुख जिल्ला अधिकारीसमेतलाई सहभागी गराएर बैठक राख्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मृतक परिवारलाई १० लाख रुपियाँ राहत दिन निर्देशन आएको तर, अन्य मागहरूको विषयमा कुनै निर्देशन नआएको बताउनु भयो । ‘गृह मन्त्रालयले पछि सोधभर्ना गर्ने गरी कुनै शीर्षकबाट मृतक परिवारलाई राहत स्वरूप १० लाख दिइराख्नू भन्ने निर्देशन दिएको छ’ प्रजिअ गौतमले भन्नुभयो । ‘आउँदो २१-२२ गतेसम्ममा यो समस्या टुङ्गयाउन इलाका प्रशासन कार्यालयलाई भनेको छु ।

अन्य

भिडियो