करिब एक सातासम्म परेको वर्षापछिको पहिरोले ०७९ असोज २१ गते बिहान कपुरकोट गाउँपालिका–५ सल्लामकी देवकला बुढाको दुई ओटा घर बगायो । अहिले उहाँ पति र छोरीसहित स्थानीय सिद्ध आधारभूत विद्यालयमा आश्रय लिएर बसिरहनु भएको छ । छिमेकी र आफन्तको सहयोगमा साँझ–बिहानको छाक त जसोतसो टारिरहेका छौं, उहाँले भन्नुभयो, तर जाडो बढ्दै जाँदा चिसो कोठामा दिन काट्न समस्या भएको छ ।
विद्यालयको चिसो कोठामा गतिलो ओढ्ने–ओछ्याउने नहुँदा सुत्नै समस्या भएको स्थानीय पवि रानाले बताउनुभयो । ‘खानाको त खासै समस्या छैन, रातभर हावा चल्छ, विद्यालयको झ्याल पनि खुला छन्, उहाँले भन्नुभयो, दिउँसो त जेनतेन समय बित्छ, राति सुत्नै मुस्किल पर्छ ।
सोही स्थानकै केशरसिंह रानाको घरपनि पहिरोले बगाएपछि उहाँको परिवार पनि सोही विद्यालयमा बसिरहेको छ । पाँच जनाको उहाँको परिवार विद्यालयकै चिसो कोठामा करिब तीन हप्तादेखि बसिरहेको छ ।
बास बस्नका लागि भएका घर कसैको पहिरोले बगाएको र कसैको बस्नै नमिल्ने गरी चर्किएपछि तिहार पनि विद्यालयमै मनाउनु परेको रानाले बताउनुभयो । उहाँका अनुसार कपुरकोट गाउँपालिकाले बस्ने र खाने व्यवस्था मिलाए पनि आफुसँग गतिलो लत्ताकपडा नभएकाले चिसोका कारण समस्या भएको छ ।
पहिरोका कारण घर भत्किएपछि सल्लामका १४ परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ । ‘भएको घरजग्गा सबै पहिरोले बगाएपछि अहिले सुकुम्बासीजस्तै बस्नु परेको स्थानीय विजयसिंह बुढाले गुनासो गर्नु भयो । पहिरोले भएको सबै वस्तु बगाएपछि गतिलो लगाउने र ओढ्ने कपडासमेत नभएको उहाँले दुखेसो पोख्नुभयो । चिसोले आफ्नी पत्नी देवकलीलाई ज्वरो आउने र रुघाखोकी लाग्ने लगायतका समस्या हुन थालेको उहाँले बताउनुभयो ।
पहिरोले घर बगाएपछि अहिले आफूसहित अन्य गाउँलेको पनि अलपत्र परेको स्थानीय वीरबहादुर रानाले बताउनुभयो । वर्षौ भारतमा मजदुरी गरेर कमाएको पैसाले घर बनाएको थिएँ, उहाँले भन्नुभयो, एकैछिनको पहिरोले घरबारी सबै पुरिदिएको छ, रातभरि निद्रा लाग्दैन, पहिरोले एकपलमै सुकुम्बासी बनाइदियो । अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउने गरेको उहाँले बताउनुभयो ।
कपुरकोट गाउँपालिका–५ का वडाध्यक्ष होमराज खड्काले पहिरो पीडितलाई पालिकाले तत्कालका लागि विद्यालयमा राखिएको र उनीहरूलाई दैनिक खाना खुवाइरहेको बताउनुभयो । चिसो बढ्दै गएकाले पीडितहरूलाई विद्यालयमा बस्न समस्या भएको बताउँदै उहाँले घर नभत्किएका परिवारलाई घर फर्काउने तयारी भइरहेको बताउनुभयो ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले पहिरो पीडितका लागि राहतको व्यवस्था गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो । पालिकाले बस्ती स्थानान्तरण गर्ने तयारी गरेको उहाँको भनाई छ । केहिदिनमै काठमाण्डौंबाट भूगर्भविद्को टोली आउँदै छ, उहाँले भन्नुभयो, उनीहरू आएर बस्ती कति जोखिममा छ भनेर परीक्षण गरेपछि बस्न लायक भए गाउँमा पठाइने र बस्न उचित नभए बस्ती नै स्थानान्तरण गर्ने हाम्रो योजना छ ।
