INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलहरुबाट आचारसंहिता उल्लङ्घन

म्याग्दीका मुख्य राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचार अभियान थालेका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद–४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणको व्यवस्था गरेको छ ।

उक्त परिच्छेदको दफा  १३ को उपदफा १ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारसम्बन्धी काम गर्न सक्ने भनिएको भए पनि त्यस बिपरीत म्याग्दीमा प्रचारप्रसार तथा सभाहरु भएका छन् ।

मतदानको १७ दिन अगाडी भन्नाले कात्तिक १८ गते बाट मात्रै जुलुस, आमसभा, कोणसभा गर्न सक्ने भनिएको भए पनि सभा र कोणसभा दलहरुले गरेका छन् ।

सञ्चार माध्यममा प्रचार सामग्री समेत प्रकाशन गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा तोकीएको भए पनि पत्रपत्रिकामा समेत प्रचार सामग्रीहरु म्याग्दीमा प्रकाशन भएका छन् ।

१३ को उपदफा १ को (म) को ३ मा निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्नका लागि पनि कार्तिक १८ देखिनै पाउने व्यवस्था भए पनि घरदैलोमा नियमित रुपमा दलहरु पुगेका छन् ।

पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मल्कबाङमा गठबन्धन दलले संयुक्त कार्यक्रम गरेका छन् ।

उनीहरुले मल्कबाङको हलमा मतदातालाई जम्मा गरेर कार्यक्रम गरेको कार्यक्रममा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश ख का उम्मेदवार रेशम जुगजालीले गठबन्धनले जितेको खण्डमा विकासमा परिणाम मुखी काम गर्ने बताउनुभएको थियो ।

काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीद्वारा मल्कवाङमा घरदैलो

प्रतिनिधिसभाका उम्मेदवार नेपाली का्रग्रेसका खमबहादुर गर्बुजा (खम्बीर) र प्रदेश क का माओवादी उम्मेदवार हरि भण्डारीले बेनी नगरपालिकाको गलेश्वर क्षेत्रमा चुनावी अभियान जारी राख्नु भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधिसभा उम्मेदवार गर्बुजा सहितको टोलीले बेनी नगरपालिका क्षेत्रमा चुनावी अभियान जारी राख्नु भएको हो ।

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरुको टोलीले पनि घरदैलो अभियान जारी राखेको छ । एमालेका प्रतिनिधिसभा उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा क का देवेन्द्रबहादुर कटुवाल, प्रदेश ख का यामबहादुर गर्बुजा सहितको टोली घरदैलो अभियानमा रहेका छन् ।

एमालेका उम्मेदवारको घरदैलो अभियान जारी

 त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लाका ग्रामिण भेकमा चुनावी अभियान थालेको छ । घरदैलोमा पुगेर मतदाता भेट्ने र सामुहिक तस्बीर खिचाउने देखि लिएर कोणसभा गरेका तस्बीरहरु समेत राप्रपाले सार्वजनिक गरेको छ ।

राप्रपाका प्रतिनिधिसभा उम्मेदवार पूर्व आवास तथा भौतिक योजना सहायक मन्त्री जगतप्रसाद गौचन, प्रदेश क का उम्मेदवार प्रविण शाही एवम् ख का उम्मेदवार मिठु थापाको टोली घरदैलोमा हिडेको राप्रपाले जनाएको छ ।

आचारसंहिता उल्लङ्घनका समाचार प्रकाशमा आएको भएपनि हालसम्म कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले प्रतिक्रिया दिनु भयो ।

अन्य

भिडियो