INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले स्वास्थ्य चौकी जाने काठे पुल बगाउँदा सेवा लिन समस्या

कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजास्थित हिमा नदीको बीच टापुमा रहेको स्वास्थ्य चौकीमा जाने काठेपुल बाढीले बगाएपछि सेवा लिन समस्या भएको छ । त्यहाँ पुग्ने काठेपुल बाढीले बगाएपछि सेवाग्राही प्रभावित भएको हुन् । नदीमा पानीको बहाव बढेकाले पुल बनाउन सकिने अवस्था छैन ।

असोज अन्तिमहप्तादेखि सेवाग्राहीले सेवा सुविधा लिन नपाएको गुनासो गरेका छन् । वरिपरि हिमा नदी बगेको छ । बीचमा सरकारी कार्यालयहरू बनाइएका छन् । बाढीले पुल बगाएपछि सरकारी कार्यालयहरूसँग जनसम्पर्क विच्छेद भएको वडाअध्यक्ष धनमानसिंह हमालले जानकारी दिनुभयो । नदीको बीच भागमा रहेको टापुमा सात ओटा सरकारी कार्यालय बनेका छन् ।

असोज महिनाको १९ गतेदेखि २३ गतेसम्मको अविरल वर्षाका कारणले कार्यालय जाने काठेपुल बाढीले बगायो । वडाध्यक्ष हमालले भन्नुभयोे, ‘जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही जान सक्ने अवस्था नहुँदा सेवा लिनबाट बञ्चित छन् । पुल निर्माणको काम चाँडै पहल गर्नेछौँ ।’

उक्त टापुमा हाटसिंजा स्वास्थ्य चौकी, वडा नम्बर ४ को वडा कार्यालय, हाटसिंजा आधारभूत विद्यालय, आँखा उपचार केन्द्र, इलाका पशु सेवा कार्यालय, कृषि कार्यालय टापुमै बनेका छन् । अहिलेको जस्तै बाढी दोहोरिने अवस्था आएको खण्डमा सबै कार्यालय बग्न सक्ने खतरा रहेको छ ।

अहिले तत्काल सेवा उपलब्ध गराउनको लागि गाउँमै अस्थायी कार्यालय खोलिएका छन् । अहिले हाटसिंजा गाउँमा रहेको इलाका हुलाक कार्यालयमा रहेको एक कोठामा बसेर सिफारिस लगायतका काम सुरु भएका छन् । हाटसिंजा स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले स्वास्थ्य चौकीमा समेत बिरामी लैजान नसकिने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘स्वास्थ्यका लागि चाहिने औजार, उपकरण र औषधि स्वास्थ्य चौकीमै छन् । नदी तरेर जान सकिने अवस्था छैन । बिरामी गाउँमै छन् ।’ स्थानीय मानप्रसाद आचार्यको घरमा अस्थायी रुपमा स्वास्थ्य चौकी खोलेर काम चलाउ सेवा प्रदान भइरहेको छ ।

खोला बढेको र पुल बगाएको हुनाले सरकारी कार्यालयमा जान सकिने अवस्था छैन । तत्काल नदिमा ओहोरदोहार गर्न काठको (फट्के) लाप्को बनाउनको लागि ४० हजार रुपियाँ उपलब्ध गराएको पालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘बाढीले बितण्डा मच्चाएको छ । अब सामान्य अवस्थामा फर्कन समय लाग्छ ।’

गाउँमा काम चलाउ कार्यालय खोलेर भएपनि सेवा दिन निर्देशन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । पुल बगाएपछि सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
Photojumla20221029 (1) Photojumla20221029 (2) Photojumla20221029 (3)

 

अन्य

भिडियो