जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका १ सय ८५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले ३ सय ४६ मतदानस्थलमध्ये १ सय ८५ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
विगतमा भएको निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै कञ्चनपुरका ३ सय ४६ मतदानस्थलमध्ये सुरक्षा समितिले १ सय ८५ ओटा मतदानस्थललाई अति संवेदनशील, ७३ ओटा मतदानस्थललाई संवेदनशील र ८८ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताउनु भयो ।
भौगोलिक दुरी, सडकहरूको सुविधा र सुरक्षाको चुनौतीको हिसाबले मतदानस्थललाई विभाजन गरिएको जोशीले बताउनु भयो ।
मतदानस्थलमा म्यादी, जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र नेपाली सेनालाई खटाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो कार्यालयका अनुसार पहिलो घेरामा प्रहरी र म्यादी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा अनुसन्धान कर्मचारी र चौथो घेरामा नेपाली सेना खटिनेछन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरमा ७ हजार १ सय ५६ नयाँ मतदाता थपिएको निल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्थानीय तह निर्वाचनको बेला २ लाख ९५ हजार ३ सय ५४ मतदाता रहेको कञ्चनपुरमा यो निर्वाचनका लागि ७ हजार १ सय ५६ मतदाता थपिएर ३ लाख २ हजार ५ सय ९ पुगेको र गत निर्वाचनमा ३ सय ४१ मतदान केन्द्र रहेकामा पाँच मतदान केन्द्र थप गरी ३ सय ४६ बनाइएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानसिंह महराले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाताको सङ्ख्या १ लाख ४६ हजार ८ सय ४८ महिला मतदाता सङ्ख्या १ लाख ५५ हजार ६ सय ६२ र एक जना अन्य गरी कुल ३ लाख २ हजार ५ सय ९ मतदाता पुगेको बताउनु भयो ।
कञ्चनपुरमा प्रतिनिधिसभाका तीन ओटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका ६ ओटा निर्वाचन क्षेत्र रहेका छन् ।