कुश्मा नगरपालिका–६ शिवालय माध्यमिक विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
शिक्षक अधिकारीले निर्वाचन आचारसंहिता २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, शिक्षकले पालना गर्नुपर्ने आचारणको खण्ड ‘ज’ विपरित कार्य गरेको भन्दै स्पष्टिकरण मागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अधिकारीले नेकपा एमाले सम्बद्ध उम्मेदवारहरूको तस्विर सहित सामाजिक सञ्जालबाट जितको शुभकामना दिनु भएको थियो ।
अधिकारीलाई निर्वाचन आयोग ऐनको दफा २३ आकर्षित हुने गरी आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टाभित्र स्वयम् उपस्थित भई जबाफ दिन अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनु भयो ।
कार्यालयले जिल्लामा कार्यरत शिक्षक कर्मचारीलगायत अन्य व्यक्तिहरूले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा नलाग्न समेत आग्रह गरेको छ ।
