फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वास्थानी रिजाललाई निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नगरप्रमुख तिवारीले निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा गएको उजुरीका आधारमा आयोगले बिहीबार २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख तिवारीले गठबन्धनको तर्फबाट फलेबास नगरपालिका–१ कार्किनेटामा आयोजित सभामा सहभागी भएको उजुरी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले सामुदायिक स्वास्थ्य इकाइलाई स्वास्थ्य सामग्री वितरण गरेको आधारमा स्पष्टिकरण सोधेको हो ।
तिवारीलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उफा दफा ३ बमोजिम जिल्ला आचारसंहिता अनुगमन समितिमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।
त्यस्तै रिजाललाई निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (क) विपरित सरकारी निकायको श्रोत साधन दुरुपयोग गरी नगर कार्यपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएको कार्य गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।
निर्वाचन आचारसंहिताले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरूाई आफ्नो स्थानीय तह भित्र चुनाव प्रचारप्रसारमा रोक लगाएको छ । आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई प्रचारप्रसारमा नजान सचेत गराएको छ ।

