कृष्णपुर नपालिका–२ बंकमास्थित उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी चुनावी प्रचारप्रसारमा हिडने गरेको पाइएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ‘ज’ मा कर्मचारी तथा शिक्षकहरुले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्ने, मत माग्ने जस्ता कार्यहरु गर्न नहुने तथा सामाजिक सञ्जालहरुमा कुनैपनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट, शेयर, कमेन्ट गर्न नहुने भनी उल्लेख गरिएको छ ।
सेठी आचारसंहिता विपरित राजनीतिक कार्यक्रममा जाने, आचारसंहिता विपरित घरदैलोमा गठबन्धनका उम्मेदवारका लागि भोट माग्न हिँड्ने गरेको स्थानीय हरिष भट्टले आरोप लगाउनु भएको छ ।
लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका इन्चार्जसमेत रहेका सेठीले उम्मेदवारको पक्षमा फेसबुकमार्फत पनि लेख्ने गरेको पाइएको छ ।
क्याम्पस बन्द हुनाले आफू गठबन्धनको प्रचारप्रसार कार्यक्रममा सहभागी भएको सेठीले स्वीकार गर्नु भएको छ । क्याम्पस खुलेपछि पार्टीबाट राजिनामा दिने उहाँले बताउनु भयो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले पार्टी कार्यकर्ता भएर चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था भएपनि सेठी निर्वाचन क्षेत्र नं.१ को गठबन्धनका मुल प्रचारप्रसार समिति सदस्य पनि रहेको स्थानीयले आरोप लगाएका छन् ।
आचारसंहिता अनुगमन समिति कञ्चनपुरका संयोजक विष्णु जोशीका अनुसार क्याम्पस प्रमुख जगदीश सेठीलाई आचारसंहिता विपरित कार्य गर्न तत्काल रोक लगाइ सचेत गराइएको र अबदेखि यस्तो कार्य गरेको देखिएमा स्पष्टिकरण सहित सजायको व्यवस्था गरिने बताउनु भयो ।
सेठीले आगामी दिनमा आचारसंहिता विपरित कुनै पनि कार्य नगर्ने वाचा पनि गरेको संयोजक जोशीले बताउनु भयो ।