कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई काजक्रिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपियाँ दिने भएको छ ।
असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि क्रिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई क्रिया खर्च बापत रकम दिइनेछ ।
कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार र राहत सहयोग गर्ने कार्य पनि भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
उहाँले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।