INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा देखिएको हवाई उडानसम्बन्धि समस्या समाधान गर्न सरकारसँग माग

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग भेटगरी सो माग गरिएको हो ।

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीको उडानलाई नियमित बनाउनका लागि उनीहरूसहितको बैठक बोलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो ।

केही दिन अघिको वर्षातका कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्थामा छ । पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भईरहेका बेला हवाई सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासो गर्नुभयो ।

उहाँले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको बताउनुभयो । ‘कर्णालीका लागि हवाई सेवाको दीर्घकालिन समस्या समाधान गर्नु प¥यो । र, यसका लागि केही साना जहाज थप गर्नुप¥यो भनेर मन्त्रीज्यूलाई ज्ञापन–पत्र बुझाइएको छ,’ पूर्वमन्त्री भण्डारीले भन्नुभयो, ‘अहिले तत्काल निजी क्षेत्रको उडान सेवा प्रदायक कम्पनीलाई एउटा आमन्त्रण गरेर बैठक बोलाउनु प¥यो भनेर हामीले अनुरोध गरेका छौं । अब मन्त्रीज्यूले बैठक बोलाउने भनेर हामीलाई भन्नु भएको छ । र, दुई जहाज खरिदका लागि योजना रहेको उहाँले हामीलाई आश्वस्त गराउनु भएको छ ।’

यता, मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी दुई ओटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिनुभएको थियो । भने निजी क्षेत्रका सेवा प्रदायक कम्पनीलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासन समेत दिनुभएको थियो ।

पूर्वमन्त्री भण्डारीले भने निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नु परेकाले सो समस्या समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको बताउनुभयो । यसअघि गृह मन्त्रालयले पनि केही दिन अघि आएको वर्षातका कारण अवरुद्ध सडक सञ्जाल, विद्युत र टेलिफोन सेवा तत्काल संचालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो ।
Photosurkhet20221019

अन्य

भिडियो