आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल तोकिएको छ । जसमा ४ सय ३८ ओटा मतदानस्थल अति सम्वेदनशील, ८ सय २४ ओटा मतदानस्थल सम्वेदनशील र ६ सय ३५ ओटा मतदानस्थललाई सामान्य भनि वर्गीकरण गरिएको छ ।
निर्वाचनका लागि ४ हजार ९९ ओटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
९ सय ७१ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, १ हजार ८ सय ५५ ओटा मतदान केन्द्रलाई सम्वेदनशील र १ हजार २ सय ७३ ओटा मतदान केन्द्रलाई सामान्य भनि वर्गीकरण गरिएको प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ५७ ओटा मतदानस्थलमध्ये २३ ओटा मतदानस्थ अति सम्वेदनशील रहेको निश्कर्ष जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले २३ ओटा सम्वेदनशील र २९ ओटा मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरेको बताउनु भयो । यसअघि जिल्लामा ७३ ओटा मतदानस्थल थिए । प्रतिनिधिसभा र प्रदेश सभा निर्वानका लागि दुई ओटा मतदानस्थल थप गरेर ७५ ओटा पुगेको प्रजिअ पोखरेलले बताउनु भयो । फुङलिङ नगरपालिका–९ स्थित श्री शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित श्री सिम्बुक आधारभूत विद्यालयमा मतदानस्थल थप भएको हो । भौगोलिक विकटता र मतपेटिका ढुवानी समस्याले मात्र अति सम्वेदनशील मतदानस्थल उल्लेख गरेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलले कुनै समूह वा सुरक्षा दृष्टिकोणले सम्वेदनशीलका रूपमा वर्गीकरण गरिएको बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका मतदानस्थलमध्ये आठ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील मानिएको छ । जिल्लाका १ सय ८ मतदानस्थललाई सुरक्षा सम्वेदनशीलका आधारमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई अति सम्वेदनशील मतदानस्थल भनि विश्लेषण गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले १ सय ३ ओटा मतदानस्थलमध्ये ८२ ओटा मतदानस्थल सम्वेदनशील र १८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा वर्गीकरण गरिएको बताउनु भयो । अति सम्वेदनशील मतदानस्थलमा ४ हजार ९१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने जिल्ला सुरक्षा समितिले जनाएको छ । अति सम्वेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने समितिले जनाएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्ला निर्वाचन आयोगका अनुसार जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ५ सय ५४ जना मतदाता रहेका छन् ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका १ सय २२ ओटा मतदानस्थलमध्ये ११ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निश्कर्ष जिल्ला सुरक्षा समितिले निकालेको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुन सक्ने घटनालाई मध्यनजर गरी ११ मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनु भयो । मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि तीन तहमा वर्गीकरण गरेको हो । ३३ ओटा मतदानस्थल सम्वेदनशील र ७८ ओटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अति सम्वेदनशील र सामान्य सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय डिएसपी सुनिलजङ्ग शाहले बताउनु भयो । सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध सम्वेदनशीलताका आधारमा गरिन्छ । जिल्लामा प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तय गरिएका ८४ ओटा मतदानस्थलमध्ये १२ ओटा मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका आठ ओटा स्थानीय तहका ८४ ओटा मतदानस्थलमध्ये सुरक्षा सम्वेदनशीलताको हिसाबले १२ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ । जिल्लाका २० ओटा मतदानस्थललाई सम्वेदनशील र ५२ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनु भयो । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ८४ ओटा मतदानस्थल र १ सय ६३ ओटा मतदान केन्द्र तोकिएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा ७९ ओटा मतदानस्थल र १ सय ५० ओटा मतदान केन्द्र तोकिएकोमा हाल मतदानस्थल र केन्द्रको सङ्ख्या बढाइएको छ । जिल्लाका अति सम्वेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ तामाङले बताउनु भएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका १ सय ३६ ओटा मतदानस्थलमध्ये ४० ओटा मतदानस्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । ५७ ओटा मतदानस्थल सम्वेदनशील र ३९ ओटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १ सय ९४ ओटा मतदान केन्द्रमध्ये ५५ ओटा अति सम्वेदनशील, ८९ ओटा सम्वेदनशील र ५० ओटालाई सामान्य मतदान केन्द्रमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका ८७ ओटा मतदानस्थलमध्ये ३३ ओटा मतदानस्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । २० ओटा मतदानस्थल सम्वेदनशील र ३४ ओटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १ सय ५३ ओटा मतदान केन्द्रमध्ये ५२ ओटा अति सम्वेदनशील, ३५ ओटा सम्वेदनशील र ६६ ओटालाई सामान्य मतदान केन्द्रमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार आगामी मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका १६ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको निश्कर्ष जिल्ला सुुरक्षा समितिले जनाएको छ । सुरक्षा सम्वेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा जिल्लाका १ सय १९ ओटा मतदान केन्द्रमध्ये १६ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १६ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशील, ४९ ओटालाई सम्वेदनशील र ५४ ओटालाई सामान्यमा वर्गीकरण गरिएको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनु भयो । अति सम्वेदनशील र सम्वेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जीवी दाहालले बताउनु भयो । सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदान पश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध सम्वेदनशीलताका आधारमा गरिन्छ । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय १९ ओटा मतदानस्थलमा १ सय ६२ मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र नं. क मा ६४ ओटा मतदानस्थलमा ८७ ओटा मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन क्षेत्र नं. ख मा ५५ ओटा मतदानस्थलमा ७५ ओटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताउनु भएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका ५६ ओटा मतदानस्थलमध्ये २१ ओटा मतदानस्थललाई सम्वेदनशील र ३५ ओटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ९३ ओटा मतदान केन्द्रमध्ये २७ ओटा सम्वेदनशील र ६६ ओटालाई सामान्य मतदान केन्द्रमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका १ सय २ ओटा मतदानस्थलमध्ये ३४ ओटा मतदानस्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । ५८ ओटा मतदानस्थल सम्वेदनशील र १० ओटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १ सय ७७ ओटा मतदान केन्द्रमध्ये ५८ ओटा अति सम्वेदनशील, ९७ ओटा सम्वेदनशील र २२ ओटालाई सामान्य मतदान केन्द्रमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरेका १ सय ५० ओटा मतदानस्थलमध्ये ३६ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निश्कष जिल्ला सुरक्षा समितिले निकालेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा कायम रहेका ५५ ओटा मतदानस्थल सम्वेदनशील तथा ५९ सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनु भयो । जिल्लामा १ सय ५० ओटा मतदानकेन्द तोकिएको छ । प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउनु भयो । जिल्लामा निर्वाचनको समयमा आचारसंहिताको पनि अनुगमन भइरहेको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ईलामका एसपी दिलिप घिमिरेले निर्वाचनको सुरक्षालाई मध्यनजर गरी जिल्लामा १ हजार ४ सय ४८ जना म्यादी प्रहरी छनोट गरिएको बताउनु भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ७ सय ६६ ओटा मतदानस्थलमध्ये २ सय ७१ ओटा मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ३ सय ८१ ओटा मतदानस्थललाई सम्वेदनशील र १ सय १४ ओटा मतदानस्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको बताउनु भयो । सुरक्षाका दृष्टिले अति सम्वेदनशील, सम्वेदनशील तथा सामान्य अवस्थाअनुसार सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत संयुक्त रूपमा सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भएको छ । जिल्लामा ‘हाई प्रोफाइल’ भएका व्यक्तिहरूको उम्मेदवारी परेकाले ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षा व्यवस्थामा परिवर्तन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डिएसपी वसन्त पाठकले जिल्लामा निर्वाचनका बेला नेपाल र म्यादी प्रहरी गरी ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा ३ लाख ३१ हजार ४४ जना पुरूष, ३ लाख ३२ हजार २ सय ५९ महिला जना र आठ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लाका ३ सय ६ ओटा मतदानस्थलमध्ये ५० ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निश्कर्ष जिल्ला सुरक्षा समितिले निकालेको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका मतदानस्थलमध्ये ५० ओटा मतदानस्थललाई अति सम्वेदनशीलको सूचीमा राखेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार १ सय ४४ ओटा मतदानस्थल सम्वेदनशील र १ सय १२ ओटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाका ८ सय ३९ ओटा मतदान केन्द्रमध्ये १ सय ३७ ओटा अति सम्वेदनशील, ३ सय ८८ ओटा सम्वेदनशील र ३ सय १४ ओटा सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा ३ सय ६ ओटै मतदानस्थलमा केन्द्रीय सुरक्षा रणनीति अनुसार तीन घेरामा सुरक्षाको व्यवस्था गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लाका १ सय ६६ ओटा मतदानस्थलमध्ये ५९ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको निश्कर्ष जिल्ला सुरक्षा समितिले निकालेको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका मतदानस्थलमध्ये ५० ओटा मतदानस्थललाई अति सम्वेदनशीलको सूचीमा राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार ६५ ओटा मतदानस्थल सम्वेदनशील र ४२ ओटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाका ५ सय ९१ ओटा मतदान केन्द्रमध्ये १ सय ८४ ओटा अति सम्वेदनशील, २ सय ८१ ओटा सम्वेदनशील र १ सय २६ ओटा सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा १ सय ६६ ओटै मतदानस्थलमा केन्द्रीय सुरक्षा रणनीति अनुसार तीन घेरामा सुरक्षाको व्यवस्था गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका १ सय १ ओटा मतदानस्थलमध्ये २१ ओटा मतदानस्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अति सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको छ । ५३ ओटा मतदानस्थल सम्वेदनशील र २७ ओटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २ सय ६४ ओटा मतदान केन्द्रमध्ये ४२ ओटा अति सम्वेदनशील, १ सय ४५ ओटा सम्वेदनशील र ७७ ओटालाई सामान्य मतदान केन्द्रमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।