आगामी मङ्सिर ४ गते हुने आम निर्वाचन ०७९ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को दफा ५ (ङ) विपरित प्रतियोगितालाई पुरस्कार सौजन्य गरेपछि प्रतियोगिता सञ्चालनमा रोक लगाइएको छ ।
मकालु गाउँपालिका–३ हेदाङना गढीमा हाङहोङटेम सामुदायिक सिकाइ इकाइ केन्द्रले कात्तिक ४ गतेका लागि आयोजना गरेको ब्याडमिन्टन तथा खुल्ला नृत्य प्रतियोगिता सञ्चालनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रोक लगाएको हो ।
आचारसंहिता विपरित प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पुरस्कार प्रायोजन गरेको भन्दै नेपाली कांग्रेस पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असोज ३१ गते लिखित उजुरी दिएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले बताउनु भयो ।
निर्वाचन आचारसंहिता विपरित परेको उजुरीको सुनुवाइका लागि अनुगमन समितिलाई जानकारी गराएको सहायक निर्वाचन अधिकृत सापकोटले बताउनु भयो । निर्वाचन आचारसंहिता विपरित उम्मेदवारले प्रायोजन गरेको कार्यक्रम सञ्चालन गर्न तत्कालका लागि रोक लगाइएको निर्वाचन आचारसंहिता अनुगमन समिति संयोजक चिरञ्जीवी अधिकारीले बताउनु भयो ।
हाङहोङटेम सामुदायिक सिकाइ इकाइ केन्द्रलाई लिखित र मौखिक रूपमा जानकारी गराएर कार्यक्रम सञ्चालनमा रोक लगाइएको संयोजक अधिकारीले बताउनु भयो ।
प्रतियोगिताका लागि ५० हजार रुपियाँ प्रायोजन गरेको सम्बन्भमा उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पूर्व निर्धारित कार्यक्रम अनुसार नै आर्थिक सहयोग गरेको बताउनु भएको छ ।
