पहिरोका कारण पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास क्याङ्रुङ डाँडाथरका बस्ती तलको भागबाट पहिरो खस्दा सिङ्गो गाउँनै जोखिममा परेपछि यहाँका २२ घर परिवार विस्थापित भएका छन् ।
उनीहरू अहिले छिमेकी तथा आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् । असोज २२ गते राति करिव ३ बजेको समयमा गएको पहिरोले गाउँ नै जोखिममा परेको छ । पहिरोका कारण जमिन जताततै चर्किएको छ । घरका जग र भित्ताहरु पनि चर्किएका छन् ।
स्थानीय युबहादुर पल्लीले पहिरोकै आवाजले थर्किएर आफ्नो घर चर्किएको र घरमा बस्ने अवस्था समेत नभएको बताउनु भयो । घर चर्किएपछि आफ्नो १२ जनाको परिवार छिमेकी आफन्तको घरमा बस्दै आउनु भएको छ । उहाँले आफ्नो मात्रै घर गोठ सहित करिव १० रोपनी बारी चर्किएको बताउनु भयो ।
पानी नपर्दापनि यहाँ दैनिक पहिरो खस्दै आएको छ । घर जोखिममा परेपछि दुई दिन स्थानीय लक्ष्मी माविमा बसेको र दशैं बिदा सकिएर बिद्यालय सञ्चालन भएपछि अहिले छिमेकीको घरमा बस्दै आएको उहाँले बताउनु भयो ।
यसैगरी, दुर्गाबहादुर पल्ली, नन्दबहादुर पल्ली, बेगबहादुर पल्ली, यमबहादुर पल्ली, रनबहादुर सोती, ठगबहादुर सोती, धनबहादुर सोती, प्रतापसिं सोती, बोमबहादुर सोती, खेमबहादुर सोती, मोतिराम बयम्बु, धनबहादुर बयम्बु, बलबहादुर सोती, रक्तबहादुर सोती, दलबहादुर विक, गिरप्रसाद बयम्बु, जसदेव विक, ठगबहादुर सुनार, नरबहादुर सोती, शेरबहादुर सोती, धनबहादुर सोतीको परिवार पनि विस्थापित भएका छन् ।
यस्तै रिक विक, लिबहादुर सोती, लोकबहादुर सोती, पदमबहादुर सोती, ठनबहादुर सोती, रेवती सोती र तुल्सीप्रसाद सोतीको घर जोखिममा परेकोले सबै जना अहिले छिमेकी तथा आफन्तको घरमा बस्दै आएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनु भयो ।
अध्यक्ष सारुले पहिरो गएको आसपासको क्षेत्रमा बसोबास गर्न नमिल्ने गरी जोखिम बढेकाले यहाँबाट बस्ती स्थानान्तरण गरेर सुरक्षित स्थानमा पीडितलाई राखिएको बताउनु भयो ।
अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरु विस्थापित हुन पुगेकाले यहाँका विस्थापित परिवारहरुलाई स्थानान्तरणको आवशयकता रहेको बताउदै पहिलो चरणमा विस्थापित परिवारको गाँसबासको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिने बताउनुभयो ।
गाउँमा रहेका करिब ४६ घरधुरीमध्ये तत्काललाई २२ घर अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।
पहिरोकै कारण स्थानीय लक्ष्मी माविको भवन पनि ६ वटा कोठा क्षति पुगेकोले पठनपाठनमा समस्या भएको र विद्यालयको दक्षिणतर्फको भागमा पहिरो गएकाले जोखिम मोलेर विद्यालय पठन पाठन गरिएको प्रधानाध्यापक पदमबहादुर थापाले बताउनु भयो ।