कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले कृषिमा महिलाले गरेको योगदानप्रति राज्य चनाखो बन्नुपर्ने बताउनुभएको छ । असोज ३० गते मन्त्री शाहीले १५ औँ अन्तर्राष्ट्रिय ग्रामिण महिला तथा ४२ औँ विश्व खाद्य दिवसको अवसरमा वीरेन्द्रनगरमा आयाजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
पछिल्लो समयमा खाद्यन्न उत्पादनमा महिलाहरूले योगदान गर्दै आएको भन्दै मन्त्री शाहीले महिलाहरूको कृषिप्रतिको लगानीलाई राज्य समयमै चनाखो भएर उचित सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हिजो आज पुरुष भन्दा महिला दिदी बहिनीहरूको कृषि कर्ममा आर्कषण बढेको छ । खाद्य उत्पादनमा अमूल्य योगदान छ । थुप्रै महिलाहरू चुलो, चौकोमा मात्रै नभई, खाद्यान्न उत्पादनबाट मुलुकभर चिनिएका छन् । त्यसको मुल्याङ्गकन राज्यले गर्नुपर्छ ।’
साथै केही समय अघि अविरल वर्षाका कारण बाढी पहिरोबाट कर्णालीका विभिन्न जिल्लामा किसानको बालीनाली नष्ट भएको बताउँदै मन्त्री शाहीले किसानसँग जोडिएका यस्ता हरेक समस्या समाधानका लागि मन्त्रालय लागि परेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय ग्रामिण महिला तथा ४२ औं विश्व खाद्य अधिकार दिवसका सन्दर्भमा फियान, राष्ट्रिय कृषक महासङ्घ, इन्सेक, गैसस महासङघ, खाद्य अधिकार सञ्जाल, सुन्दर नेपाल लगायतका संस्थाको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा आयाजित अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहीले उक्त प्रतिवद्धता जनाउनु भएको हो ।
दिवसको अवसरमा ‘भोलीको दिगोका लागि आज लैगिक समानता’, ‘उत्पादन, पोषण र वातावरण सुधार सुखी जीवनको आधार’ नाराका साथ खाद्य अधिकार, ग्रामिण महिला, कृषि र नीति ऐनमा सरोकारवलाको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका अवसरमा मानव सेवा आश्रमलाई कृषी भुमी व्यबस्था तथा कृषी मन्त्रालयल तथा आयोजकको तर्फबाट खाद्यन्न हस्तान्तरण पत्र आदान प्रदान गरीएको छ ।
