पतिको कुटपिटबाट घाइते भएकी त्रिपुरासुन्दरी नपा–२ रुम गाउँकी ४६ वर्षीया चन्द्रकली बुढाका माइती पक्षले घटनामा संलग्नलाई कारबाहीको मागगर्दै ०७९ असोज २८ गते प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ
४९ वर्षीय पति ललि बुढाले असोज २८ गतेसाँझ घरमा कुटपिट गरेको भन्दै चन्द्रकलीका बाबुले प्रहरी चौकी त्रिपुराकोटमा निवेदन दिनु भएको चौकीका इन्चार्ज रुद्रबहादुर शाहीले जानकारी दिनु भएको छ ।
पतिको कुटपिटबाट घाइते चन्द्रकलि बुढाको त्रिपुरासुन्दरी नगरअस्पतालमा उपचार भइरहेको छ । पीडितका बुवा नरचन्द्र थापाले आफ्नी छोरीलाई कुटपिट गर्ने ज्वाईलाई पक्राउ गरी कारवाही गर्न निवेदन दिनु भएको इन्चार्ज शाहीले बताउनु भयो ।
कुटपिटबाट पीडितको दायाँ तिघ्रा, टाउको र पिठयुमा गहिरो चोट लागेको छ । त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोटबगरमा होटल व्यवसाय गर्दै आउनु भएकी पीडितलाई परपुरुषसँग लागेको आरोपमा पटक पटक पतिले कुटपिट गर्ने गरेको पीडितका आफन्तले चौकीमा दिएको निवेदनमा उल्लेख छ ।
पत्नी कुटपिट घटनाका आरोपित बुढा फरार रहेको प्रहरी चौकीका इन्चार्ज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो “ललि बुढाका विरुद्ध पत्नी कुटपिटको आरोपमा यसभन्दा अघि पनि दुई ओटा निवेदन दर्ता भएकाले फरार बुढाको खोजी भइरहेको छ” । नगर अस्पतालका अहेव कविप्रसाद उपाध्यायले घाइते पीडितको अवस्था सामान्य रहेको बताउनु भयो ।