निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले फलेवास नगरपालिका–४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ ।
असोज ३० गते मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले उजुरीका आधारमा छानबिन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ‘ज’ विपरित सामाजिक सञ्चालमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष विपक्ष लिई फेसबुकमार्फत भोट मागेको भन्दै २४ घण्टा भित्र स्पष्टिकरण दिन माग गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा असोज ३० गते जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता ०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कार्बाही प्रक्रिया अगाडि बढाउने गरी स्पष्टिकरण माग गरिएको उल्लेख छ ।
कार्यालयले सोही विज्ञप्तिमार्फत कोही कसैले पनि आचारसंहिता विपरितका गतिविधि नगर्न र नदोहोर्याउन समेत आग्रह गरेको छ ।
