नौकुण्ड गाउँपालिका-६ सर्स्युकी २४ वर्षीया सविता तामाङले विवाह तथा छोरीको जन्मदर्ताको लागि पहल गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडासँग अनुरोध गर्नु भएको छ ।
उहाँका पति २७ वर्षीय सरोज नेगीले आफ्नो विवाह दर्ता तथा ४ वर्षकी छोरी जन्मदर्ता नगरिदिएको भन्दै सोको लागि पहल गर्न अनुरोध गर्नु भएको हो ।
पतिले घरेलुहिंसा गरेपछि एक वर्षदेखि छोरीसँग कालिका गाउँपालिका- २ गोम्बाडाँडास्थित माइतीघरमा बस्दै आएको सविताले बताउनु भयो ।
घरेलुहिंसाका कारण सँगै बस्न नसकेपछि सम्बन्ध विच्छेदको लागि जिल्ला सरकारी वकिलको कार्यालय जाँदा सरकारी वकिलको कार्यालयबाट विवाह वा छोरी जन्मदर्ता अनिवार्य भनेपछि फर्केको उहाँले इन्सेक प्रतिनिधि खतिवडालाई ०७९ असोज ३० गते बताउनु भएको छ ।
उहाँले जन्म दर्ता विवाह दर्ता र सम्बन्ध विच्छेदका लागि कानुनी सहायता नपाएकोले सहयोगका लागि इन्सेकका प्रतिनिधि समक्ष अनुरोध गर्नु भएको हो ।
नियम अनुसार मेलमिलाप प्रयास गर्ने तथा नमिलेमा अदालतमा सम्बन्ध विच्छेद तथा नि:शुल्क कानुनी परामर्श दिने जिल्ला अदालतका वैतनिक वकिल नोर्बु लामाले बताउनुभयो ।