सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सत्यनारायण यादवको हत्या आरोपमा सोही पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्रीलाई असोज २६ गते गिरफ्तार गरिएको छ ।
मृतककी पत्नी फुलसैरदेबी यादवले दिएको उजुरीका आधारमा अनुसन्धान पश्चात आरोपितलाई गिरफ्तार गरी असोज २७ गते जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशबहादुर सिंहले जानकारी दिनु भयो ।
सीमाभन्दा ३ किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असोज २० गते बिहान यादवको शव नाङ्गो अवस्थामा फेला परेको थियो ।
छिन्नमस्ता गाउँपालिका मोहनपुरस्थित बोर्डर आउट पोष्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पुर्याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप छ ।
भारतीय प्रहरीले शव बुझाउन खोज्दा सुरुमा छिन्नमस्ता बीओपीका इञ्चार्ज सई कृष्णबहादुर मगरले आफ्नो मान्छे नभएको भन्दै शव बुझ्न नमानेको र आफूहरूलाई जान समेत रोकेको भन्दै मृतकका छोरा अमोदकुमार यादवले जबरजस्ती भारत गएर शव पहिचान गरेपछि स्थानीयवासीको दबाबमा मात्र शव नेपाल ल्याइएको बताउनु भयो ।
घटनाको अनुसन्धानका लागि मधेस प्रहरी ब्युरोको अनुसन्धान टोलीले सहयोग गरेको डिएसपी सिंहले जानकारी दिनु भयो ।
डिएसपी सिंहका अनुसार पोष्टभित्र रगतको टाटाहरू फेला परेको र चिकित्सकहरूले मृतकको शरीरमा चोटपटक लागेको जानकारी दिएका छन् । शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज २२ गते गरिएको छ ।
सशस्त्र प्रहरी बलले असोज २६ गते राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र एसपी प्रदीप खडकालाई मुख्यालय तानेको छ ।
असई यादवको हत्या घटना लुकाउन खोजेको आरोप लागेका छिन्नमस्ता बीओपीका इञ्चार्ज सई कृष्णबहादुर मगर असोज २० गते उपचारका लागि भन्दै राजविराजस्थित छिन्नमस्ता अस्पताल र विराटनगर हुँदै हाल एपीएफ अस्पताल बलम्बु काठमाडौँ पुगेको प्रहरीले जनायो ।
सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाले घटनाबारे अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारवाही हुने बताउनु भएको छ । मृतकका पत्नी, एक छोरा र २ छोरी छन् ।