आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
आयोगले असोज २६ गते अपराह्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।
मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
आयोगले तोकेको समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये प्रतिनिधि सभातर्फ १ सय १९ र प्रदेशसभातर्फ २ सय ५७ गरी कूल ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार अब प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १ सय ८७ जना पुरूष र २ सय २५ जना महिलाको उम्मेदवारी रहेको छ ।
त्यस्तै प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी कायम भएको छ । ३ हजार २ सय २४ जनामध्ये २ हजार ९ सय ४३ जना पुरुष, २ सय ८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।
उम्मेदवारी कायम भएको सबै उम्मेदवारलाई निर्वाचन चिह्न समेत तोकिसकिएको आयोगले जनाएको छ ।