INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीबाट स्वतन्त्रसहित तीनजना मात्र महिला उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिलाले प्रतिनिधि सभाका लागि उम्मेदवार दिनु भएको छ । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै हुनुुहुन्छ ।

जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रनु भएको छ भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुवैजनाले संविधान सभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय सरकारमा राज्यमन्त्रीको भूमिका निर्वाह गरिसक्नु भएको छ । कुँवर २०७० को दोस्रो संविधान सभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बन्नु भएको थियो भने राप्रपा महामन्त्री शाही २०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र २०७४ मा ३ महिना शहरी विकास मन्त्री हुनु भएको थियो ।

दुबैजना पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लडनु भएको थियो । जसमा कुन्ती दुवैपटक सफल हुनु भयो भने गोमा पहिलो निर्वाचनमा असफल भए पनि दोस्रोपटक सफल हुनु भएको थियो ।

जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मिएकी गोमा १४ वर्षकै उमेरमा सशस्त्र द्वन्द्वमा लाग्नु भएको थियो । २०५६ सालमा वीरबहादुर कुँवरसँग जनवादी विवाह गरेको उहाँले बताउनु भयो ।

कुन्ती शाहीको राजनीतिक यात्रा अनेरास्ववियुबाट शुरु भएको हो । २०४७ सालमा राप्रपामा लाग्नु भएकी उहाँले राप्रपाको महामन्त्री बन्न झण्डै तीन दशक सङ्घर्ष गर्नुप¥यो । उहाँको पारिवारिक पृष्ठभूमि पञ्चायती राजनीति नै भएकाले उहाँ राप्रपाको राजनीतिमा समावेश हुनु भएको उहाँले जानकारी दिनु भएको छ ।

विद्यार्थी राजनीतिमा उहाँले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा निकै लोकप्रियता कमाउनु भएको थियो । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी सङ्घको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष हुनु हुन्थ्यो ।

शाहीसँग प्रतिस्पर्धामा रहेका एमाले नेता रवीन्द्रराज शर्मा दोस्रोपटक चुनाव लड्दै हुनु हुन्छ भने गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा रहनु भएको छ ।

त्यस्तै डोल्पाबाट प्रतिनिधि सभामा बदमी क्वारा बुढाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । यसअघि डोल्पाबाट प्रदेश सभा सदस्य रहनु भएकी बुढा नेकपा एमालेले अन्तिममा आएर समाजवादीबाट एमालेमा प्रवेश गरेका गणेश शाहीलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । गठबन्धनका धनबहादुर बुढा, नेकपा एमालेका तर्फबाट गणेश शाहीसँग उहाँ चुनावमा भिड्दै हुनुहुन्छ ।
Photosurkhet20221012

अन्य

भिडियो