INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिता विपरित भोट माग्दै उम्मेदवार

आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा मनोनयन दर्तापछि जिल्लामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित भोट माग थालेका छन् ।

इन्सेकले गरेको अनुगनमका क्रममा राजनीतिक दलहरूले निर्वाचन लक्षित आचारसंहिता विपरितका गतिविधिको सुरूआत गरेका छन् ।

राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरू मनोनयन दर्ता लगत्तै घरदैलो अभियानको सुरूआत गरेको इन्सेकले अनुगमनका क्रममा पाएको छ ।

निर्वाचन आयोगको जारी गरेको निर्वाचन आचारसंहिता २०७९ विपरित दलहरूले घरदैलो अभियान गरेका हुन् ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ को उपदफा १ को ‘म’ विपरित घरदैलो अभियान गरेको अनुगमनका क्रममा पाइएको छ ।

उपदफा १ मा रहेको ‘म’ को ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था वा उल्लेख छ ।

तर,धनकुटा नगरपालिका–७ हुलाकटोलमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले असोज २४ गते घरदैलो कार्यक्रम गर्नु भएको छ ।

नेकपा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार दर्ता गराउनु भएका एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्रकुमार राईले पाख्रिबास नगरपालिका–९ मातिम्बुमा घरदैलो कार्यक्रम गर्नु भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

उम्मेदवार नै पक्का नभइ घरदैलो अभियान सञ्चालन गर्नुको अर्थ नहुने र यो आचारसंहिता विपरितको काम भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताउनु भयो । सूचना अधिकारी श्रेष्ठले असोज २६ गते उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएपछि मात्रै आधिकारीक उम्मेदवार हुने बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद शाहले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म लिखित रूपमा कुनै उजुरी नआएको बताउनु भयो । उम्मेदवार मनोनयन दर्ताको दिनदेखि आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको र घरदैलो अभियानको विषयमा कुनै जानकारी नभएको मुख्य निर्वाचन अधिकृत शाहको भनाइ छ ।

 Photo 202201010 Dhankuta (2)

Photo 202201010 Dhankuta (1)

अन्य

भिडियो