आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गतका सबै जिल्लमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया ०७९ असोज २३ गते सम्पन्न भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो ।
इन्सेकका प्रतिनिधिहरूका अनुसार उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको भए पनि त्यसको प्राय सबै जिल्लामा उल्लङ्घन भएका देखिएको छ ।
इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार जिल्लामा उमेद्वारी दर्तागर्ने क्रममा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एमालेबाट निर्वाचन आचारसंहिता २०७९ उल्लङ्घन भएको छ । असोज २२ गते भएको सर्वदलिय बैठकमा आचारसंहिताको पूर्ण पालना गर्ने भनिए पनि त्यसको पालना हुन सकेन । साथै निर्वाचन आचार संहिता २०७९ का परिच्छेद ४ को दफा १३ को उपदफा १ अन्तर्गतको खण्ड (ण) समेत उल्लङ्घन भएको थियो ।

सदरमुकाम चौतारामा भएको मनोनयन दर्ता गर्ने क्रममा नेकपा माओवादी केन्द्रले झाँकी र ठूला झण्डा ब्यानर सहित बोकेर ठूलो सङ्ख्यामा कार्यकर्ताहरू निर्वाचन कार्यालय तर्फ जान लागेका थिए । माओवादी केन्द्रले बाजागाजा सहितको माइकिङ्ग गरी लगेको जुलुसले आचार संहिता उल्लङ्घन गरेको भन्दै चौताराको टुडिखेलचोकमा पुगेपाछि माइक सहितको ठूलो स्पीकर र झाँकी तथा बाजागाजा सहितको जुलुसलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी राप्रपाको जुलुसमा पनि बाजागाजा सहितको झाकीलाई प्रहरीले हस्तक्षप गरी बन्द गराएको थियो । उमेद्वारी दर्ता गर्ने क्रममा नेकपा एमालेले सडकमा ठूलो सङ्ख्यामा कार्यकर्ता उतारेर झण्डा र जुलुस प्रयोग गरेर शक्ति प्रर्दशन गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले पनि ठूलो भण्डा र जुलुस प्रयोग गरेर शक्ति प्रर्दशन गरी उमेद्वारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो ।
इन्सेक रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवा, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि शान्तिपूर्ण ढङ्गबाट उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभाका लागि तीन जना स्वतन्त्र सहित ११ जना, प्रदेश तर्फ क मा एक जना स्वतन्त्र सहित नौ जना र प्रदेश ख मा एक जना स्वतन्त्र सहित नौ जनाले मनोनय दर्ता गरेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस सहित गठबन्धनले तामझामका साथ जुलुस गरेर निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार ठूला राजनीतिक दलहरूबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन आउने क्रममा ठूला राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गर्दै सयौँ कार्यकर्ता तथा झन्डाको प्रयोग गरी शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता गराएका छन् ।
असोज २२ गते बसेको सर्वदलिय बैठकमा आचार संहिताको पूर्णपालना गर्ने निर्णयमा हस्ताक्षर गरेका मूख्य दलहरूले भोलिपल्टै आचारसंहिताको उल्लङ्घन भएको हो । सत्तागठबन्धनबाट उम्मेदवारी दर्ता गर्न गएका नेपाली काङ्ग्रेस, नेकपा एस र नेकपा माओवादीले संयुक्त र्याली गर्दै हेटौँडा बजार परिक्रमा गरेर उम्मेदवारी दिन पुगेका थिए । यस्तै नेकपा एमालेले पनि हेटौँडा उपमहानगरपालिका–५ को सानोपोखरास्थित पार्टी कार्यालयबाट उम्मेदवारसहित हजारौँ कार्यकर्ता र सयौँको सङ्ख्यामा पार्टीको झन्डा प्रयोग गरी र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालाय पुगि उम्मेदवारी दर्ता गराएका थिए ।
यसैगरी हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले उम्मेदवारी दर्तामै आचारसंहिता उल्लङ्घन गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोगमा रोक लगाइएको छ । तर, लौरो अभियानबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको दाबी गरेका मकवानपुरका उम्मेदवारहरूले राष्ट्रिय झन्डा भिरेर उम्मेदावरी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको क्रममा राष्ट्रिय झन्डाको प्रयोग गरेर उम्मेदवारी दर्ता गराउँदा समेत निर्वाचन अधिकृतको कार्यालय मौन बसेको थियो ।

इन्सेक रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रमुख राजनीतिक दलले नै आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्य दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले नै आचारसंहिताको उल्लङ्घन गरेका हुन् । असोज २२ गते बसेको सर्वदलीय बैठकमा आचार संहिताको पूर्ण पालना गर्ने निर्णयमा हस्ताक्षर गरेका मुख्य राजनीतिक दलहरूले आचार संहिताको उल्लङ्घन गरेका हुन् । आचारसंहिता अनुसार मनोनयन दर्ता गराउन जाँदा २५ जना भन्दा बढीको जुलुस र १० वटा बढी झण्डा प्रयोग गर्न नपाइने व्यवस्था भए पनि राजनीतिक दलहरू सयौँ कार्यकर्ताको जुलुस सहित मनोनयन दर्ता गर्न पुग्नुभएको थियो । राजनीतिक दल ठुलो ब्यानर सहित बाजागाजा गर्दै मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा उम्मेदवारी दर्ता गर्ने क्रममा मूख्य दलहरूले नै आचारसंहिताको उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन कार्यालय स्थापना गरिएको दुवै क्षेत्र गल्छी र धादिङबेसीमा गरिएको मनोनयन कार्यक्रम शान्तिपुर्ण रह्यो । असोज २२ गते सर्वदलिय बैठकमा आचार संहिताको पूर्णपालना गर्ने निर्णयमा हस्ताक्षर गरेका भए पनि धादिङबेसीमा उम्मेदवारी दर्ता गराउन गएको नेपाली कांग्रेसका ठूलो सङ्ख्यामा कार्यकर्ताहरू निर्वाचन अधिकृतको कार्यालय पुगेकच थियो । नेकपा एमालेले ठूला झण्डा र व्यानर बोकेर उम्मेदवारी दर्ता गएको छ । आचारसंहिता उल्लङ्घन गर्दै दलहरूले आफैले गरेको हस्ताक्षर विरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । गल्छीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा समेत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र नेकपा एमालेले आचार संहिता उल्लङ्घन गर्दै धेरै संख्यामा कार्याकता सडकमा उतारेर जुलुस प्रदर्शन गरेका छन् ।

इन्सेक सिन्धुली प्रतिनिधि नविनवाबु अधिकारीका अनुसार उम्मेदवारी दर्ता गर्ने क्रममा प्रमुख राजनीतिक दलले नै आचारसंहिता उल्लङ्घन गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगाएतका दलले निर्वाचन आचारसंहिता विपरीत, मनोनयन दर्ता गराउन जाँदा २५ जना भन्दा बढीको जुलुस र १० वटा बढी झण्डा प्रयोग गर्न नपाइने व्यवस्था भए पनि राजनीतिक दलहरू सयौँ कार्यकर्ताको जुलुस सहित मनोनयन दर्ता गर्न पुगेका थिए ।
निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन तर्फ नेपाली कांग्रेसको श्याम घिमिरे र नेकपा एमालेबाट प्रदिप कटुवालले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्नुभएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लेखनाथ दाहाल( राजन ) र नेकपा एमालेको तर्फबाट मनोजजंग थापाले उम्मेदवारी दर्ता गनुभएको छ । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं. १ (क) माओवादी केन्द्रबाट मातृका भट्टराई र नेकपा एमालेबाट सुवास देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं. १ (ख) मा नेपाली काग्रेसबाट रामकुमार पहाडी र एमालेबाट राम कुमार कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र नं. २ (क) मा नेपाली काग्रेसबाट छेत्र बहादुर बम्जन र एमालेबाट बिनोद खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र नं. २ (ख) गठबन्धन दल नेपाल समाजवादी पार्टीका गंगा नारायण श्रेष्ठ र एमालेबाट राम कुमार पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ । केही अन्य दलका उम्मेदवार, केही बागी र स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो

इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र न. १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन गएका सत्ताधारी र प्रमुख प्रतिपक्ष दलबाटै निर्वाचन आचार संहिता उलङ्घन भएको छ । बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गराउने समयावधी रहे पनि भक्तपुर नगरपालिका दरबारस्क्वायरस्थित पुस्तकालयमा रहेको भक्तपुर क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा र मध्यपुरथिमि बोडेस्थित कृषि विकास तालिम केन्द्रको भवनमा रहेको क्षेत्र न.२ को निर्वाचन अधिकृतको कार्यालयमा १२ बजेपछि मात्रै उम्मेदवारी दिनेको चहलपहल सुरु भएको थियो ।
त्यसैक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रतिनिधि सभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउन जाँदा निर्वाचन आचार संहिताको उलङ्घन भएको छ । बिहान ११:३० बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई धिमे बाजा, झाकीसहित २ सय भन्दा बढी कार्यकर्ताहरूको जुलुस गर्दै बालकुमारी, पुरानो थिमि, बाहखा बजारहुँदै बोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेको क्षेत्र नं २ निर्वाचन कार्यालयमा पुगेर १ बजे उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँसँगै एमालेको तर्फबाट वाग्मति प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ ‘क’ किरण थापा र ‘ख’ मा चन्दनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी
उमेदवारी दर्तामा २५ जना भन्दा बढी मानिस भेला गर्न नपाइने १० वटा भन्दा बढी झण्डा राख्न नपाइने, नारा जुलुस गर्न नपाइने भने पनि एमालेबाट आचार संहिता उलंघन भएको छ । सयौ झण्डाको प्रयोग र नारा लगाइएको छ ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस सभापति दूर्लभ थापाले उम्मेदवारी दर्ता गराउन जाँदा पनि व्यापक रुपमा आचार संहिता उलङ्घन भएको छ । दिउँसो २ बजे शंखधर चोक थिमिबाट १ सय ५० जना भन्दा बढीको र्यालीसहित नारा लगाउदै सुरु भएको जुलुस मध्यपुरथिमिको बिभिन्न ठाउँको परिक्रमा गर्दै बोडे पुगेर ३ बजे उहाँले उम्मेदवारी दर्ता गराउनु भएको थियो । उहाँसँगै बागमी प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नं. २ ‘क’ मा काग्रेसका नेता बिष्णुराज कार्की र ‘ख’ मा नेकपा समाजवादीका राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यसैगरि भक्तपुर क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा नवराज गेलालले उम्मेदवारी दर्ता गराउदा पनि आचार संहिता उलङ्घन भएको छ । कमलविनायकबाट आएको र्याली भक्तपुर नगरपालिकास्थित जनज्योति पुस्तकालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गेलाल र एमालेबाट भक्तपुर क्षेत्र नं. १ ‘क’ मा नारायणसुन्दर शिन्ताकल र ‘ख’ मोहनबीर श्रेष्ठले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । धिमे बाजा, र्याली र नारा लगाउदै ५० भन्दा बढी झण्डाको प्रयोग गरेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
गठबन्धनको तर्फबाट भने भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता सुनिल बासु गोठेले उम्मेदवारी दर्ता गराउन आउँदा पनि आचार संहिताको उलङ्घन भएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादीलगायतले १ सय भन्दा बढी झण्डाको प्रयोग गरी नारा जुलुस गर्दै उम्मेदवारी दर्ता गराउन आएको थियो । उहाँसँगै गठबन्धनको तर्फबाट वाग्मति प्रदेश सभा सदस्यमा भक्तपुर क्षेत्र नं. १ ‘क’ बाट नेपाली कांग्रेसका नेता सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
इन्सेक नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य मनोनयनमा राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेका छन् । दुई ओटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दलहरूले तोकिएको भन्दा बढी संख्यामा मनोनयन दर्ता गर्न गएका थिए । असोज २२ गते भएको सर्वपक्षीय बैठकमा २५ जनाभन्दा बढी उम्मेदवारी दर्ता गर्न नजाने सहमति विपरित दलहरूले सयांैको संख्यामा कार्यकर्ता ल्याएका थिए । आचार संहिता विपरित ठूला ब्यानरसहित नाराजुलुस गर्दै दलहरू मनोनयन दर्ता गराउन पुगेका थिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका ठूला भनिएका राजनीतिक दलहरूले अचारसंहिता विपरितका गतिविधिहरू गरेको देखियो ।
क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १५ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् भने प्रदेश तर्फ १‘क’ मा ७ जना र १‘ख’ मा १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । क्षेत्र नं. २ मा प्रतिनिधी सभातर्फ ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेशतर्फ २ ‘क’ ११ जना र प्रदेश २ ‘ख’ मा ८ जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

इन्सेक ललितपुर प्रतिनिधि दिपकप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो ।
उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको भए पनि त्यसको उल्लङ्घन भएको देखिएको छ । जिल्लाका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ ओटा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्तागर्ने क्रममा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र नेकपा समाजवादी र नेकपा एमालेबाट निर्वाचन आचारसंहिता २०७९ उल्लङ्घन भएको छ । सर्वदलिय बैठकमा आचारसंहिताको पूर्ण पालना गर्ने भनिए पनि त्यसको पालना हुन सकेन । साथै निर्वाचन आचार संहिता २०७९ का परिच्छेद ४ को दफा १३ को उपदफा १ अन्तर्गतको खण्ड (ण) समेत उल्लङ्घन भएको थियो ।
क्षेत्र नं. १ को गोदावरी नगरपालिका कार्यालय भवन, क्षेत्र नं. २ को सातदोबाटोस्थित एन्फा भवन, क्षेत्र नं. ३ को जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठान भवनमा भएको मनोनयन दर्ता गर्ने क्रममा नेकपा माओवादी केन्द्रले झाँकी र ठूला झण्डा ब्यानर सहित बोकेर ठूलो संख्यामा कार्यकर्ताहरू निर्वाचन कार्यालय तर्फ जान लागेका थिए । माओवादी केन्द्रले बाजागाजा सहितको जुलुसले आचार संहिता उल्लङ्घन गरेको थियो ।
क्षेत्र नं. १ प्रतिनिधि सभमा तर्फ २१ जना मध्ये राजनीतिक दलका ११ र स्वतन्त्र १० जनाको उम्मेद्वारी परेको छ । प्रदेश सभा (१) मा ५ ओटा राजनीतिक दल र ८ जना स्वतन्त्र गरी १३ जनाको र (२) मा ६ वटा राजनीतिक दल र ९ जनाा स्वतन्त्रको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिनुभयो ।
क्षेत्र नं. २ प्रतिनिधि सभमा तर्फ २३ जना मध्ये राजनीतिक दलका १४ र स्वतन्त्र ९ जनाको उम्मेद्वारी परेको छ । प्रदेश सभा (१) मा ८ ओटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी १० जनाको र (२) मा ८ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र ११ जनाको मनोनयनपत्र दर्ता भएको सहायक निर्वाचन अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो । क्षेत्र नं. ३ प्रतिनिधि सभमा तर्फ २२ जना, प्रदेश सभा (१) मा १२ जना र (२) मा ९ जनाको मनोनयनपत्र दर्ता भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्लामा मनोनयन दर्ताका क्रममा राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घन गरेका छन् । मनोनयन दर्ता प्रक्रियामा निर्वाचन आयोगले तोकेको भन्दा बढी सङ्ख्यामा कार्यकर्ताहरूलाई जुलुसमा प्रयोग गरेको, झण्डाहरूको प्रयोग गरेको, नारा जुलुस र बाजा गाजासहित र्याली निकालेक छन् । जिल्ला निर्वाचन कार्यालयले प्रदेश १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ९ जना पुरुष, प्रदेश २ मा १३ जना पुरुष र सङ्घमा २१ जना पुरुषले उमेदवारी दर्ता गराएका छन् ।
