अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था विषयक छलफल कार्यक्रम असोज ११ गते धनुषाको लालगढमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा पत्रकारहरुको सुरक्षा, चुनौती र सरोकारवालाहरुको भूमिका विषयमा नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष राजेश कर्णले प्रस्तुतीकरण गर्नु भयो ।
मानव अधिकार रक्षकहरुको वर्तमान अवस्था र घटनाको तथ्याङ्कबारे इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक पासवानले देशभर मानव अधिकार रक्षकहरुप्रति सुरक्षा चुनौती बढेको बताउन भयो ।
उहाँले मानव अधिकार रक्षकको रुपमा काम गर्ने, पत्रकारिता क्षेत्रमा सुचना प्रवाह गर्ने र न्यायका लागि वकालत गर्ने रक्षकहरुप्रति सुरक्षा चुनौती बढेको बताउनु भयो ।
उहाँले गत २०२१ को तथ्यांक अनुसार देशभर २५ जना पत्रकारहरुमाथि घटना भएको बताउनु भयो । सामाजिक क्षेत्रमा कार्यरत ३४ जना, युवा तथा विद्यार्थीमध्ये १५ जना, अधिवक्ता नौ जना र सामाजिक न्यायका लागि वकालत गर्ने मानव अधिकारकर्मीहरु ३१ जना पीडित भएको बताउनु भयो ।
उहाँले २०२२ मा जनवरीदेखि जुलाईसम्म ५५ जना मानवअधिकार रक्षकहरु पीडित भएकाले यसप्रति हामी सरोकारवाला निकायहरु गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा मधेस प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराइले मानव अधिकार रक्षकहरुले काम गर्दा आफुले पालना गर्नुपर्ने आचारसंहिता र पेशागत मर्यादा कायम गर्न नसक्दा सुरक्षा र चुनौती बढेको बताउनु भयो ।
उहाँले हामी पत्रकारहरुले समाचार लेख्दा आम जनमासलाई हित हुने र विश्वास हुने गरि लेख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले सामाजिक संजाल र अनलाइनहरुले गर्दा पत्रकारिताप्रतिको आकर्षण र पत्रकारहरुको भुमिका कम भएका होइनन्, अझै पनि विश्वासिलो सामाचार र सूचनाका प्रवाहकको रुपमा जनताका विश्वासी पात्रका रुपमा हामी पत्रकारहरु नै भएकोले हामीले पेशागत मर्यादा र आचारसंहितालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मानव अधिकारका पक्षधरहरुको क्षमता अभिवृद्धि तालिमको आयोजना गर्दा अझै प्रभावकारी छलफल हुन सक्ने बताउनु भयो ।
आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले मानव अधिकार रक्षकहरुले अरुको हित र सार्वजानिक सरोकारका कुराको उठान गरि रहेकाले मानव अधिकार रक्षकहरुलाई सुरक्षा चुनौती रहनु स्वभाविक भएको बताउनु भयो ।
उहाँले मानव अधिकार रक्षकहरुले आफ्नो व्यवहार, पेशागत मर्यादा, आचारसंहिताको पालना गरेको खण्डमा केही हदसम्म सुरक्षा चुनौतीलाई न्युनिकरण गर्न सक्ने बताउनु भयो ।
आफुहरुको टिम अहिले मधेस प्रदेशका संचारगृहहरुको अध्ययन र अनुगमन गरि रहँदा संचारमाध्यमहरुमा पत्रकारहरु निकै नाजुक अवस्थामा संचालन भइरहेको बताउनु भयो ।
पत्रकारिता क्षेत्रमा लागेका मानव अधिकार रक्षकहरुले न्युन, तलव र अपुग उपकरणका वावजुद पनि काम गर्दै आएको उहाँले बताउनु भयो ।
मानव अधिकार रक्षकहरुको अवस्थाप्रति आफुहरु गम्भिर भई पत्रकारहरुको दुर्घटना विमालगायत प्रोत्साहनका लागि आम संचार प्राधिकरण गम्भिर भएर पनि बजेट अभाव र कार्यालय संचालनमा कर्मचारी अभावले धेरै काम गर्न नसकेको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले मानव अधिकार रक्षक पत्रकारहरुकोे सुरक्षा र चुनौती बढि रहेको अवस्थामा मिडिया काउन्सिल र आम संचार प्राधिकरण आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताउनु भयो ।
पत्रकारहरुको न्युन तलव, संचार सामाग्री अभाव, विना सम्झौता काम गर्नुपर्ने बाध्यता रहेकाले यसप्रति प्रदेश सरकार गम्भिर भई पत्रकारहरुको सुरक्षा र क्षमता अभिवृद्धिका लागि अग्रसरता लिनुपर्नेमा जोड दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका निमित्त कार्यालय प्रमुख मनमाया राणा मगरले मानव अधिकार रक्षकहरुले आफुलाई जोखिममा राखेर भएपनि अर्काको समस्या उजागर गर्ने, वकालत गर्ने, न्यायको लागि पहल गर्ने गरेको बताउनु भयो । हामी हरपल सचेत भएर काम गर्न जरुरी रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष टंकप्रसाद क्षेत्रीले मानवअधिकारका पक्षधर हामी रक्षकहरुले आफ्नो पेशागत दक्षता, क्षमता र आचारसंहिता पालना गर्न जरुरी रहेको बताउनु भयो । हामीले आफ्नो मर्यादा भुलेर काम गर्दा सुरक्षा र चुनौती बढेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखा अध्यक्ष सुनिता बरालले हामीले चाहेको खण्डमा हामी रक्षकमाथि बढेको सुरक्षा चुनौती हामी आफैले न्युनिकरण गर्न सक्ने बताउनु भयो । हामीले एकतर्फी रुपमा एकाग्र भएर सुचना प्रवाह गर्दा समेत सुरक्षा चुनौती बढाएको बताउनु भयो ।
थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह र पत्रकार शैलेन्द्र क्रान्ति लगायतले आवाजविहीनको आवाज भएर कार्य गर्दा वा पीडितको न्यायका लागि कार्य गर्दा जहिले पनि असुरक्षित रहनु पर्ने भएकोले मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।



