एक १३ वर्षीया दलित बालिकालाई बन्धक बनाई जातीय विभेद गरेको कसुरमा जिल्ला अदालतले मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर नगरकोटीलाई चार वर्ष ६ महिना र उहाँकी पत्नी ६० वर्षीया बालकुमारी श्रेष्ठलाई तीन महिना जेल सजायको फैसला गरेको छ ।
जिल्ला अदालत रामेछापकी जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले ०७९ भदौ २९ गते दोषी ठहर गरी उहाँहरूलाई असोज ७ गते सजाय निर्धारण गरेको हो ।
अदालतले शेरबहादुरलाई जातीय विभेदको घटनामा एक वर्ष कैद र ७५ हजार रुपैँया जरिवाना तथा ७० हजार रुपैँया क्षतिपूर्ति भराउने निर्णय गरेको छ । त्यस्तै शरीर बन्धक मुद्दामा ३ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । सो मुद्दामा ३५ हजार रुपैँया जरिवाना तोकिएको छ । यस बाहेक पीडित राहत कोषमा १ हजार ४ सय रुपैँया जम्मा गर्नुपर्ने भएको छ ।
उहाँकी पत्नी बालकुमारी श्रेष्ठलाई भने ३ महिना कैद र ५० हजार रुपैँया जरिवाना भएको छ । जिल्ला अदालत रामेछापका स्रेस्तेदार रामप्रसाद पौडेलका अनुसार नगरकोटीका छोरा रोशन नगरकोटीले भने सो मुद्दामा सफाइ पाएका छन् ।
०७८ फागुन ३० गते नगरकोटीको घरमा भित्र पसेर दही झिकेर खाएको आरोपमा स्थानीय देवस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत ती बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर दलिनमा झुण्ड्याई नगरकोटी दम्पतिले यातना दिएका थिए ।
अघिल्लो दिन बाँधेर झुड्याइएकी ती बालिकालाई भोलिपल्ट प्रहरी गएर छुटाएको थियो । पीडित पक्षले ०७८ चैत २ गते जिल्ला प्रहरी कार्यालयमा जातीय छुवाछूत तथा भेदभाव र शरीर बन्धक मुद्दामा उजुरी दर्ता गराएका थिए ।
अदालतको फैसलाले आफूहरूले न्याय पाएको पीडित बालिकाका ठूलो बुवा सार्की नेपालीले बताउनुभयो ।