इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय स्तरमा भएका स्रोतहरूको पहिचान गरी सही ढङ्गले परिचालन गर्न सके मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्ने बताएका छन् ।
नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजनाको साउन २७ गते आयोजित समीक्षा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले सो कुरा बताएका हुन् । उनले मानव अधिकारमैत्री समाज मात्रै सभ्य समाज हुने पनि बताए ।
उनले भने- ‘जिल्लामा सरकारी संयन्त्रसँग आर्थिक स्रोत छ । हामीले सरकारका निकायलाई सहयोग गर्नुपर्छ र स्थानीय स्रोतको सही परिचालन गर्न दबाब दिँदै सहयोग गर्नुपर्छ ।’ अध्यक्ष प्याकुरेलले यसो गर्न सके जिम्मेवार निकायका अधिकारी जवाफदेही बन्ने बताए । जहाँ समस्या छ त्यँहीबाट समाधान खोज्नुपर्ने बताउँदै उनले भने-‘जरामा समस्या छ । हाँगामा समाधान खोजेर हुन्न ।’
समीक्षामा गैरसरकारी संस्था महासङ्घ नेपालकी पुर्व अध्यक्ष शर्मिला कार्कीले गैरसरकारी संस्थाले सरकारी निकायलाई सहयोग र खबरदारी सँगसँगै गर्नुपर्ने बताइन् ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले परियोजना सञ्चालनका क्रममा देखिएका संस्थागत चुनौतीलाई मिलेर सामना गर्नुपर्ने बताए ।
ड्यान चर्च एड नेपालका प्रमुख डेभिड स्मिथले यो परियोजनामा सँगसँगै का मगर्न पाउँदा खुसी लागेको बताए । उनले यो कार्यक्रमले आगामी दिनमा बलियो सहकार्यका सम्भावना बढेको बताए ।
दलित सेवा सङ्का अध्यक्ष चक्रमान विश्वकर्माले जुनसुकै विषयको भएपनि तथ्यमा आधारित रहेर पैरवी गर्नुपर्ने बताए ।
समीक्षा कार्यक्रममा परियोजनाका साझेदार संस्था दलित सेवा सङ्घ, नेपाल अपाङ्ग समाज र जागरण नेपालका प्रतिनिधि तथा जिल्लामा कार्यरत परियोजना संयोजक र प्रतिनिधि गरी २० जनाको सहभागिता रहेको परियोजना प्रमुख सारा न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार आगामी डिसेम्बरसम्म सञ्चालन हुने यो परियोजनाको संयोजन इन्सेकले गरेको छ भने परियोजना सप्तरी, सिराह र सुनसरीमा सञ्चालित छ ।




फोटोः विमलचन्द्र शर्मा