१६ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १६ वर्षीय एक बालकलाई भदौ २७ गते १८ दिनको कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई १८ दिनको कैद सजाय गर्नुका साथै ५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको हो ।
यस्तै आरोपितबाट ५ सय रुपियाँ क्षतिपूर्ति भराउने र २ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने अन्तिम आदेश भएको छ ।
पीडित जुम्ल्याहा दिदीबहिनी सुतेको कोठाको ढोका माथिको भेण्टिलेटर तोडेर ०७८ माघ २ गते कोठा भित्र प्रवेश गरेरे आरोपित बालकले दुर्व्यवहार गरेको आरोप थियो ।
पीडितहरूको होहल्ला सुनेर पुगेका गाउँलेहरूले बालकलाई नियन्त्रणमा लिएर कुटपिट गरी माघ ३ गते प्रहरीसमक्ष बुझाएका थिए ।
पीडितद्वयकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७८ माघ ३ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७८ माघ ६ गते बाल यौन दुरुपयोगको उजुरी दर्ता गरेको थियो ।
पीडितद्वयको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ ६ गते गरिएको थियो ।
जिल्ला अदालतमा ०७८ माघ १८ गते अभियोजनपत्र दायर भएकोमा न्यायाधीश नारायणप्रसाद दाहालको माघ २० गतेको इजलासले आरोपित बालकलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरेको थियो ।