INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित

सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दी अनुसार  चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित बनेको छ ।

चिकित्सक नहुँदा बिरामीहरूले सास्ती भोग्नु परेको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङका नरबहादुर बुचाले गुनासो गर्नु भयो ।

दुई वर्षअघि ५० शैयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाएको अपस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यमर्की भने छैनन् ।

अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि  हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । यसैगरी एमबिबिएस डाक्टर आठ जना हुनु पर्नेमा तीन जना मात्र अस्पतालमा कार्यरत छन् ।

अस्पतालमा दैनिक ५ सय बिरामी आउने गरेका छन् । तर अस्पतालमा उचित जनशक्ति नहुँदा बिरामी निराश भई फर्कनु परेको छ । अस्पतालमा धेरै बिरामी थोरै स्वास्थ्यकर्मी भएकोले एकातिर बिरामीले उचित उपचार नपाएको र अर्कोतिर उपचार गराउन लाइन लागेका बिरामीहरूले साँझ अबेरसम्म पनि उपचार गराउन नपाएको गुनासो बिरामीहरूको छ ।

रैनादेवी छहरा गाउँपलिका–५, मुझुङका नरबहादुर बुचाले आफू उपचारका लागि अस्पतालमा बिहान ११ बजे आएपनि बेलुकी ६ बजे मात्र पालो आएको बताउनु भयो ।

अस्पतालमा स्वास्थ्यकर्मी र विशेषज्ञ सेवा दिने चिकित्सक नहुँदा सेवा प्रवाहलाई सहज बनाउन समस्या भइरहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रन्जिताकुमारी महतोले बताउनु भयो ।

महतोका अनुसार दरबन्दी अनुसार कर्मचारी नहुँदा ओपिडी सेवा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन भइरहेको छ ।

पाल्पा अस्पतालले अहिले ओपिडि, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, नेत्र सम्बन्धी उपचार, दन्त, फार्मेसी, आमा सुरक्षा, परिवार नियोजन, कोभिड जाँच, पोष्टमार्टमलगायतका सेवा प्रदान गर्दै आएको छ ।

अन्य

भिडियो