संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क लगातार दुई वर्ष खस्किएको छ ।
अगष्तमा सार्वजनिक भएको प्रतिवेदन अनुसार सन् २०२० र २०२१ मा नेपालको मानव विकास सूचकाङ्क लगातार खस्किएको हो ।
प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३ औँ स्थानमा रहेको छ । नेपालको मानव विकास सूचकाङ्क सन् २०२० मा ०.६०४ रहेकोमा सन् २०२१ मा ०.६०२ मा झरेको छ ।
सन् २०१९ मा ०.६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ०.६०४ र सन् २०२१ मा ०.६०२ मा झरेको हो । नेपाल मध्यम मानव विकास भएको देशको श्रेणीमा पर्छ ।
सन् २०१८ मा नेपालको अङ्क ०.६०१ थियो भने सन् २०१९ मा केही सुधार भएर ०.६११ पुगेको थियो तर कोभिड महामारीका कारण आम मानिसको स्वास्थ्य, शिक्षा र जीवनस्तरमा नराम्ररी प्रभावित भएका कारण सन् २०२० मा त्यो अङ्क ०.६०४ मा झरेको थियो भने सन् २०२१ मा पुन: ०.६०२ मा झर्यो ।
दक्षिण एसियाली मुलुक नेपाल लगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको छ भने श्रीलङ्का र बङ्गलादेशको मानव विकास सूचकाङ्क भने दुवै वर्ष बढेको छ ।
पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क २०२० मा घटेको भए पनि अहिले सुधार आएको देखिन्छ ।
सन् २०२१ मा मानव विकास सूचकाङ्क श्रीलङ्काको ०.७८२, माल्दिभ्सको ०.७४७, भुटानको ०.६६६, बङ्गलादेशको ०.६६१, पाकिस्तानको ०.६४४, भारतको ०.६३३ र अफगानिस्तानको ०.४७८ रहेको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बङ्गलादेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३ औँ स्थानमा छ । सन् २०२० मा नेपाल १ सय ४४ औँ स्थानमा थियो ।
मानव विकास सूचकाङ्कमा गिरावट प्रायःजसो सबै मुलुकमा देखिएको छ । प्रतिवेदनमा समावेश भएका मुलुकमध्ये ९० प्रतिशतको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मध्ये एक वर्ष घटेको छ भने ४० प्रतिशत मुुलुकको दुवै वर्ष घटेको छ ।
समस्यासँग जुध्न नसके झन् खराब, अभाव र अन्यायको स्थितिमा धकेलिने चेतावनी यूएनडीपीले दिएको छ ।
मानव विकास सूचकाङ्क गणना गर्न थालेको ३२ वर्षको इतिहासमा नेपालको पहिलो पटक लगातार दुई वर्ष मानव विकास सूचकाङ्क घटेको छ । यसले दिगो विकास लक्ष्यमा हासिल गरेका प्रगतिमा धक्का दिएको यूएनडीपीले भनेको छ ।
ंनेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब ३ हजार ८ सय ८७ डलर छ भने भारतमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब ६ हजार ५ सय ९० डलर रहेको छ ।
नेपाली महिलाको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ३ हजार ६ सय ७७ डलर हुदाँ नेपाली पुरुषको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४ हजार ९५ डलर छ ।
जसका कारण लैङ्गिक असमानता पनि बढेको छ । यस अवधिमा विश्वव्यापी लैङ्गिक असमानता ६.७ प्रतिशतले बढेको छ ।