दुई महिनादेखि अवरुद्ध भएको सडक सुचारु नहुँदा जिल्लाको दुहु, व्याँस र नौगाड गाउँपालिकामा खाद्यान्न अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ ।
दुहु र व्यास जोड्ने मुख्य स्थलमार्ग दार्चुला–टिंकर सडक बन्द भएपछि अहिले यो क्षेत्रमा खाद्यान्न पु¥याउन सकिएको छैन् ।
टिंकर सडकले दुहु गाउँपालिकाका सबै बस्ती र व्यास गाउँपालिकाको १ र २ नम्बर वडा बाहेकका बस्तीमा सडकको पहुँच पुगेको भएपनि वर्षायामको सुरुवातसँगै टिंकर सडकको विभिन्न भागमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या उत्पन्न भएपछि खाद्यान्न अभाव हुन थालेको हो ।
कृषि उत्पादन कम हुने भएकाले दुहु र व्यास गाउँपालिकाका अधिकांश बस्तीका बासिन्दा किनेको खाद्यान्नमा निर्भर हुन्छन् । करिब दुई महिनासम्म खाद्यान्न ढुवानी नहुँदा सञ्चित गरिएको खाद्यान्न सकिन लागेकाले खाद्यान्नको समस्या आउन थालेको व्यास गाउँपालिका–६ का करनसिंह धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘अवरुद्ध सडक सञ्चालन गर्ने कुनै सुरसार देखिएको छैन् । सयौं परिवार खाद्य समस्यामा पर्ने अवस्था सृजना भएको छ ।’
वर्षात् सुरु भएदेखि सडक भासिएर तथा पहिरो खस्दा टिंकर सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी गर्न नसकिदा वर्षायामका लागि मौज्दात राखेको खाद्य सामग्री सकिएकोले खाद्य समस्या सुरु भएको दुहु गाउँपालिका–१ का मदनसिंह महराले गुनासो गर्नु भयो ।
उहाँले पैदल हिड्नलाई समेत समस्याग्रस्त बाटो भएको हुँदा खाद्यान्न बोकेर ल्याउन सकिने अवस्था नरहेको र स्थानीय बजारमा पनि खाद्यान्न मौज्दात नरहेकाले खाद्य समस्या आएको बताउनु भयो ।
सडकमा माथिबाट ढुङ्गा खस्ने र हतारले हिड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको दुहु गाउँपालिका–५ सुत्खोलाका मानसिंह बडालले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पुर्ति गर्नु पर्छ । तर, सदरमुकाम आउँजाउँ गर्न सर्वसाधारणलाई सकसपूर्ण छ ।’
दार्चुला–टिंकर सडक खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भएपछि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिरोको जोखिम मोलेर हिड्नु पर्ने बाध्यता छ । यहाँका बासिन्दा टिंकर सडक मै पैदल हिडेर खलंगा पुग्नु पर्ने बाध्यता विगतदेखि कै हो ।
दुहुका सबै बस्तीका बासिन्दा टिंकर सडक भएरै खलंगा झर्छन् । ‘विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर, जोखिम धेरै छ,’ दुहु गाउँपालिका–२ हिकिलाका प्रेमसिंह कार्कीले भन्नु भयो, ‘गाउँदेखि सदरमुकाम पुग्न भीरको बाटो छ । टिंकर सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिदा धेरै जोखिम बढेको छ ।’
दुहु गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्याक्टर समेत नचल्दा चामललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको छ ।
व्यास गाउँपालिकास्थित महाकाली तटीय बस्तीका बासिन्दा जोखिमपूर्ण तुईनको सहायताले भारतबाट खाद्यान्नको जोहो गर्दै आएका भएपनि माथिल्लो भेगमा बस्ने स्थानीयलाई खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–५ का स्थानीय मोहनसिह बिष्टले बताउनु भयो ।
स्थानीय जनप्रतिनिधिहरूले आम नागरिकका समस्यामा ध्यान पु¥याउन नसकेका कारण नागरिकहरु आधारभूत अधिकारबाट समेत वञ्चित हुनु परेको दुहु गाउँपालिका–१ का समाजसेवी देबेन्द्र बलमे बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय सरकारले पनि खाद्यान्नको आपुर्तिको व्यवस्था गर्नु पर्छ । जनप्रतिनिधिहरूले अवरुद्ध सडक खुलाउन सडक कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्नु पर्ने हो । खाद्यान्न अभाव आउन नदिन सडक सुचारु गरिन पर्दछ ।’
टिंकर सडकको सदरमुकामदेखि यातायात सञ्चालन नहुने गरी अहिले बर्खाको समयमा बन्द भएको छ । सास्कु खोलामा पुल नभएकाले यातायातका साधन माथिल्लो क्षेत्रमा लैजान नसकिएको ट्याक्टर व्यवसायी मनोजसिंह कुँवरले बताउनु भयो ।
‘सडकमा आएको पहिरो पन्छाए पनि नदीमा पानीको सतह नघटेसम्म यातायात चलाउन सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘टिंकर सडकको सास्कु, निजांगाड, कालागाड, कुकुरेगाड लगायत नदी र खोलामा पुल नबनेसम्म वर्षातको समयमा यातायतका साधान चलाउन सकिदैन ।’ वर्षात् नसकिन्जेल टिंकर सडक सञ्चालनमा आउने सम्भावना न्यून रहेकाले आउँदा दिनमा बढी खाद्यान्न समस्या आउने उहाँको भनाइ छ ।
उता गोकुलेश्वर हुँदै नौगाड जोड्ने मुख्य सडक भासिएपछि यहाँका स्थानीयलाई अस्पताल सम्म पुग्न र लैजानै समस्या भएको छ । स्थानीय गोविन्द ठगुन्नाका अनुसार सडक भासिएपछि आवतजावत ठप्प छ । खलंगा हुँदै दल्लेख जोड्ने सडक पनि अढाई महिनादेखि सुचारु हुन सकेको छैन् ।
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले वर्षातका कारण बाटो अवरुद्ध भएपछि व्यासी जनताले नेपालदेखि आवतजावतमा समस्या झेल्नु परेको बताउनु भयो ।
उहाँले सडक सुचारु गराउनका लागि टिंकर सडकलाई आग्रह गरिएको भएपनि अझै काम सुचारु नगरिएकोले अवरुद्ध बाटो सञ्चालनमा आउन नसक्दा स्थानीयहरुका लागि आवश्यक खाद्यान्न धुवानी गर्न नसकिएको बताउनु भयो ।



