मुगुमकार्मारोङ गाउँपालिकाको प्रशासनिक भवन ०७९ भदौ १५ गते राति अज्ञात पक्षले तोडफोड गरेका छन ।
कर्मचारीहरू लेखा परिक्षण गराउन जिल्ला सदरमुकाम गमगढी आएको मौका छोपेर अज्ञात पक्षले भदौ १५ गते राति ११ बजे भवनको विद्युत लाईन काटी भवनमा जडान गरिएका सिसि क्यामेरा निकालेर भवनको झयाल, ढोका ,फर्निचर र कम्प्यूटर तोडफोड गरेको सोही गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनु भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन तोडफोडबाट प्रशासनिक भवन, फर्निचर र कम्प्यूटर क्षति भएको अध्यक्ष लामाले बताउनु भएको छ । यस घटनापछि कर्मचारीमा डरत्रास सिर्जना भएको छ । तोडफोडमा संलग्न व्यक्तिलाई अनुसन्धानगरी कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको अध्यक्ष लामाले बताउनु भयो ।
उक्त घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ । तोडफोडमा के कति क्षति भएको हो प्रहरी प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा आइपुगेको छैन प्रहरी अनुसन्धानमै छ । यो घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय, मुगुका सूचना अधिकारी सुदर्शन पन्थीले आश्वासन दिनु भएको छ ।