नागरिक संघसस्थाहरुले भदौ १४ गते ज्ञापन–पत्र र प्रेश विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम सभाबाट पारित गरिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन, र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ संविधान र कानुन अनुरुप बनाउन माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवा विधेयकको दफा ५ को उपदफा ३ मा स्विकृत दरबन्दीमा करार र अस्थायी रुपमा कार्यरत विभिन्न कर्मचारीलाई सहायत तेस्रो तह सृजना गरी अख्तियारी प्राप्त अधिकारीले आन्तरीक मूल्याङ्कनका आधारमा स्थायी गर्ने व्यवस्था संविधान र कानुन विपरित भएको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुखलाई ज्ञापन–पत्र बझुाएका हुन ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराजजोशीले ध्यानकर्षण पत्र बुझ्दै प्रदेश सभाले पारित गरेको निजामती सेवा विद्येयक अध्ययन गरी आवश्यक सन्शोधन गर्न आवश्यक देखिएको अवस्थामा संशोधनका लागि प्रदेश सभामा फिर्ता पठाउने र संविधान र कानुनसम्वत हुने गरी प्रमाणीकरण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको इन्सेक सुदूरपश्चिम प्रदेशका संयोज खडकराज जोशीले बताउनु भयो ।
इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, जिल्ला अदातत वार, कैलालीका अध्यक्ष सिद्धराज ओझा, पत्रकार महासंघ,कैलालीका अध्यक्ष हिमाल जोशी, उपभुक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष धनपती ढुङ्गेल, गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष देबि खनाल, फाय नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेत, फियान नेपालका सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द राना लगायतका संघसस्थाका प्रतिनिधिद्धारा हस्ताक्षर गरिएको सयुक्त प्रेश विज्ञप्ति तथा ज्ञापन– पत्रमा नेपालको संविधानको धारा २४४ बामोजिम सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग गठन गरिसकेको अवस्थामा प्रदेश निजामती सेवा विधेयकमा अख्तियार प्राप्त अधिकारीले आन्तरिक मुल्याङ्कनका आधारमा स्थायी पदपर्ति गर्ने व्यवस्था गर्नु प्रदेश लोक सेवा आयोगको क्षेत्राधिकार उल्लङ्घन भएको उल्लेख गरेको छ ।
विज्ञप्ति तथा ज्ञापन–पत्रका भनिएको छ, ‘संवैधानिक र कानुनी व्यवस्था विपरित सो ऐनमा रहेको व्यवस्थालाई यथावत पारीत नगरी नागरिकको स्वातन्त्र प्रतिस्पर्धा गर्न पाउने अधिकारको संरक्षण गर्न हामी जोडदार माग गर्दछौँ ।’
सुदूरपश्चिम प्रदेश सभाले भदौ १३ गते सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन, र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको थियो ।

