अविरल वर्षाका कारण तीनसातादेखि अवरुद्ध भएको पासाङल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक अझै सञ्चालनमा नआउँदा धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय नागरिकको गुनासो छ ।
वर्षाको कारण ०७९ साउन २५ गते उत्तरगया गाउँपालिका–५ बनुवा नजिकै पहिरोले सडक बगाउँदा समस्या भएको हो ।
वर्षातको समयमा परेको पानीले ठाउँ ठाउँमा पहिरो र सडक हिलाम्य भएर अवरुद्ध भएको सडक मर्मतसम्भार नहुँदा स्थानीय नागरिकलाई स्वास्थ्य तथा अन्य सेवा लिन सास्ती भएको हो ।

आपतकालीन स्वास्थ्य सेवा लिन एम्बुलेन्स आवत जावतमा समेत समस्या परेकोले चाँढै मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।
जिल्लालाई राजधानीसँग जोडने एकमात्र पासाङल्हामु सडक पहिरोले बगाएपछि समस्या भएको उत्तरगया गाउँपालिका–५ का वडा अध्यक्ष यमनाथ आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सडक पुरै भासिएकोले मर्मतको लागि लामो समय लाग्ने भएको हुँदा स्थानीयले केही समय सास्ती खेप्नु परेको हो ।’
स्थानीय धु्रवप्रसाद आचार्यले भन्न्भयो ‘बिरामीलाइ अस्पतालसम्म लैजान एम्बुलेन्सलाई अप्ठयारो परेको छ, काठमाडौँ र त्रिशूली जाने गर्भवती, सुत्केरी, अशक्त र ज्येष्ठ नागरिकहरूले थप सास्ती खेप्नु परेको छ ।’
वैकल्पिक मार्गका रूपमा धारापानी–तारुके–सिम्ले सडक रहे पनि कच्ची सडक भएकोले त्यहाँ हिलोमा फस्ने, साँघुरो सडक भएकोले साइड नपुग्ने जस्तो समस्या रहेको उहाँले बताउनु भयो ।
तत्काल अवरुद्ध सडक खुलाउन पहल गर्नुपर्छ । बिरामी बोकेर अस्पताल पुर्याउनु धेरै कठिन छ आचार्यले भन्नुभयो ।