INSEC Online

📅 २०८३ जेष्ठ २१

एक हप्तादेखि दैनिक एक घण्टा ओपीडी सेवा बन्द, सेवाग्राही प्रभावित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ओपीडी सेवा दैनिक एक घण्टा बन्द हुँदा सेवा प्रवाह प्रभावित भएको छ । गत भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण

अस्पताल जुम्लाका आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आन्दोलन गरी ओपीडी सेवा बन्द गर्दा सेवा प्रवाह प्रभावित भएको हो ।
स्वास्थ्यकर्मीले डाक्टर कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई हदैसम्म कारबाहीको माग गर्दै लामो समयदेखि ओपीडी सेवा बन्द गर्दै आएका छन् ।

यसअघि हातमा कालोपट्टी बाँधेर काम गर्ने, इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपनि स्वास्थ्यकर्मीले एक हप्तादेखि दैनिक एक घण्टा ओपीडी सेवा बन्द गर्दै आएका छन् । उनीहरूले दिनको २ देखि ३ बजेसम्म ओपीडी सेवा बन्द गर्दै आएका हुन् ।

सिंजा गाउँपालिका–३ नराकोटकी नविना शाहीले भन्नुभयो बुवा विरामी भएर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याएर आयौँ ।

यहाँ डाक्टरहरू आन्दोलनमा रहेछन् । लामो समय गुजारेर लाइनमा बसेर विरामीको नाम दर्ता गरियो । चिकित्सकलाई विरामी देखाउन खोज्दा भेटिदैनन् । डाक्टर कुर्दै दिन वित्ने गरेको उहाँले बताउनु भयो ।

जसका कारण बिरामीले चेकजाँच गर्नबाट बञ्चित भएका छन् । प्रतिष्ठानका कर्मचारी र चिकित्सकको घटनाका कारण विरामी मर्कामा पर्ने गरेको जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख कार्मा बुढाले बताउनु भयो । उहाँले भन्नुभयो को कसको गल्ती कमजोरीका कारण घटना भयो अलग पाटो हो । ड्युटीमा रहेका डाक्टर माथि हातपात हुनु गलत हो । तर राज्यको प्रशासनिक निकायले घटनामा संलग्न व्यक्तिलाई गिरफ्तार गरि हिरासतमा राखेको छ र अनुसन्धान गरिरहेको छ तर दबाबका लागि भनेर दबाबमूलक कार्यक्रम गरि स्वतन्त्र छानबिन कार्यलाई बिथोल्ने काम त हुन लागेको होइन ।
डाक्टर निर्दाेष भए किन दबाबमूलक कार्य आवश्यक प¥यो । यस्ता गतिविधिले विरामी तथा सेवाग्राहीलाई परेको असरका बारेमा चिकित्सकले सोच्न आवश्यक रहेको उहाँको भनाई छ ।

नेपाल चिकित्सक संघको उपाध्यक्ष सहितको टोली जुम्ला आएर घटनाबारे बुझेर फर्किएपनि प्रहरीको अनुसन्धान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गठित छानबिन समितिलाई सघाउन र दबाब दिन आन्दोलनका कार्यक्रम जारी राख्नु परेको चिकित्सकले बताउने गरेका छन् ।

भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाका नकाटिदिएको भन्दै आकस्मिक कक्षमा कार्यरत डा. साहमाथि कुटपिट गरेका थिए । सोही दिन प्रहरीले चिकित्सकमाथि कुटपिट गर्ने शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।

प्रतिष्ठानले तीन सदस्यीय घटना छानबिन समिति बनाउनुका साथ डाक्टर कुट्ने शाहीलाई ४५ दिनका लागि निलम्बन गरेको छ । विशेषज्ञ चिकित्सक सूर्यमान लिम्बुले जबसम्म न्यायको अनुभूति हुँदैन तबसम्म स्वास्थ्यकर्मी तथा चिकित्सकको आन्दोलन जारी रहने बताउनु भयो ।

प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको छानबिन समितिले समेत छानबिन कार्यलाई अघि बढाइसकेको रजिष्टार निर्पेन्द्र महतले बताउनु भयो ।
photojumla20220828

अन्य

भिडियो