भरतपुर महानगरपालिका–८ धारेचोककी ६१ वर्षीया देवकला सुवेदीको हत्या गरेको आरोपमा मृतककी बुहारी ३० वर्षीया विष्णु सुवेदी र सोही घरमा डेरा गरी बस्ने माडी नगरपालिका–६ घर भएकी २६ वर्षीया दीपा भुजेललाई प्रहरीले ०७९ भदौ ८ गते गिरफ्तार गरेको छ ।
पीडित ०७९ भदौ ७ गते साँझ आफ्नै घरमा घाइते अवस्थामा भेटिएपछि परिवारका सदस्यले तत्कालै भरतपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
निधारमा चोट र घाँटीमा समेत केही दाग देखिएपछि आमाको हत्या भएको भन्दै छोरा भूमिश्वर सुवेदीले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
तत्कालका लागि पीडितकी माहिली बुहारी विष्णु र दीपा भुजेललाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले बताउनुभयो ।
शवको पोष्टमार्टम भदौ ९ गते भरतपुर अस्पतालमा गरिएको छ ।