INSEC Online

📅 २०८३ जेष्ठ २१

१७ वर्षीय बालकको हत्या गरेको आरोपमा बाबु गिरफ्तार

अग्निसाईर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीको हत्या आरोपमा प्रहरीले उनका बुबा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

कुटपिट गर्दा विशालको भदौ ६ गते राती हत्या भएको खबर पाएपछि आरोपितलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जनाएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

छारे रोगका बिरामी विशाल एकाएक मुर्छा परेर सिमेण्टको भुँइमा लडेर बेहोस भएपछि मादक पदार्थ सेवन गरेर आएका आरोपितले पेटमा लात्ति प्रहार गरेको आरोप छ । भुँइमा पछारिँदा विशालको टाउकोमा चोट लागी कानबाट रगत बगेको थियो ।

शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ ७ गते गरिएको छ । मृतकका मामा उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का रामकुमार चौधरीले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ ९ गते उजुरी दिनु भएको छ ।

उजुरीमा घटनाको सत्यतथ्य छानविन गर्न र हत्या गरेको खुलेमा दोषीमाथि कारवाही गर्न माग गरिएको इन्स्पेक्टर रमेश तिमल्सिनाले बताउनु भयो ।

घटनाबारे अनुसन्धान भइरहेको तथा शव परीक्षण प्रतिवेदन आइसकेपछि मात्र कारवाही प्रकृया अगाडि बढ्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो