कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक नहुँदा विरामीलाई सकस हुने गरेको छ । तातोपानी गाउँपालिका–६ की बाचुकला बिष्टले अस्पतालमा ब्लड बैंक नहुँदा समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो सुत्केरी व्यथा लागेपछि ०७९ भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा आए । गाउँको स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने भएपछि प्रतिष्ठानमा आएकी हुँ ।
धेरै रक्तस्राव भएपछि थप ब्लडको अवश्यकता भएको उहाँले बताउनु भयो । अस्पतालममा ब्लड नपाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गुहार माग्नु पर्ने भयो ।
उहाँले भन्नुभयो शल्यक्रिया गरेर दुई छोरा जन्माए । चिकित्सकले दुई प्वाइन्ट ‘बी पोजेटिभ’ रगत ल्याउन भन्नु भयो । रगतका लागि दिनभर भौंतारिनु प¥यो ।
केही सीप नलागेपछि सुत्केरी भएको चार घण्टापछि सशस्त्र प्रहरीका लोकेन्द्र राना र प्रकाश थारूले रगत दिएर ज्यान जोगियो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको चिकित्सक राजीव शाहले बताउनु भयो ।
तातोपानी गाउँपालिका–६ हियाखोलाकी दन्ता कामीले फोक्सोमा मासु पलाए शल्याक्रिया गर्न भदौ २ गते अस्पताल आएको बताउनु भयो । उहाँका पति भक्त कामीले भन्नुभयो चिकित्सकले शल्यक्रिया गरेपछि झन्डै एक किलो मासु निकाले । तर रक्तश्राव भएपछि सात प्वाइन्ट रगत आवश्यक देखियो । ‘तत्काल कतै भेटिएन । गाउँको मान्छे भएकाले बजारमा चिनजान भएन । चाहिएको बी पोजिटिभ रगत थियो, जेनतेन चार प्वाइन्ट त भेटियो थप रगत नपाइएपछि सुरक्षाकर्मीले नै रगत दिएर ज्यान बच्यो ।
जुम्लाका लागि त प्रहरी र सेना नै ब्लड बैंकजस्तै छन् । अस्पताल प्रशासनको पत्र लिएर आएपछि सेना र प्रहरीले रगत दिने व्यक्ति खटाउने गरिएको नन्दाबक्स गण जुम्लाका प्रमुख सेनानी रविन थापाले बताउनु भयो ।
झण्डै एक दशकअघि जुम्लामा नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा केन्द्र स्थापना गरेको थियो । जसका लागि भवन बन्यो । केही समय रगत संकलनको पनि काम भयो । तर बिजुलीको अनियमितताका कारण दिगोरुपमा सञ्चालन हुन सकेन । सोसाइटीका उपसभापति जगदिश चौलागाईले बिजुली अभावकै कारण केन्द्र बन्द गर्नुपरेको बताउनु भयो । उहाँले भन्नुभयो पहिले यहाँ अप्रेसन हुदैनथ्यो, यहाँको रगत सुर्खेत पठाएर पनि बिरामीको उपचारमा सहयोग गर्दथ्यौ । अहिले अप्रेसन हुन्छ, तर रक्तसञ्चार केन्द्र छैन ।’ अहिले जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिए पनि केन्द्र स्थापनाका लागि कसैले पहल नगरेको उहाँको भनाइ छ । अहिले रक्त सञ्चार सेवा केन्द्रका लागि बनाएको भवनमा आँखाको उपचार भइरहेको छ । केन्द्रको लागि ल्याइएका उपकरण थन्किएर जीर्ण भइसकेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. पुजन रोकायाले सानो स्केलको रगत अस्पतालमै राख्ने व्यवस्था मिलाइएको बताउनु भयो । ‘दुई सय पोकासम्म रगत राख्न मिल्छ,’ उहाँले भन्नुभयोे, ‘तर त्यो डाक्टर पढाउने अस्पतालका लागि पर्याप्त छैन ।’ उहाँका अनुसार अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, आँखा, छाला, डेन्टललगायतको जटिल प्रकारको शल्यक्रिया भइरहेको छ । धेरै जसो विरामीलाई रगत आवश्यकता परेको हुन्छ । सवै अस्पतालबाटै आपूर्ति हुदैन । आवश्यक रगत बाहिरबाट नेपाली सेना, प्रहरीबाट पनि लिने गरिएको छ ।
