INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यालय प्रमुखलाई मोसो दलेको घटनाका आरोपित गिरफ्तार

जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रादेशिक कार्यालयका प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अमानवीय व्यवहार गरेको घटनाका आरोपित कालिकोट जिल्ला सानीत्रिवेणी गाउँपालिका–६ का ३१ वर्षीय राज सिहं भन्ने (कमलबहादुर सिंह) लाई प्रहरीले भदौ ५ गते राति वीरेन्द्रनगर नपा–४ हिलेखालीस्थित पूर्णराज तिरुवाको कोठाबाट गिरफ्तार गरेको जनाएको छ ।

पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै कार्यालय प्रमुख केसीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का कार्यकर्ताले भदौ ५ गते कार्यकक्षमा मोसो दलेका थिए ।

शैक्षिक सत्र शुरूभएको चार महिना बित्तिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै मोसो दलिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रा.) ले जनाएको छ ।

गिरफ्तार भएका राज सिंह भन्ने (कमलबहादुर सिंह) का विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ भएका व्यक्ति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रा.) मा भए नभएको नखुलेको प्रहरीले जनाएको छ ।

सङ्गठनका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकत्वमा गएको समूहले प्रमुख केसीलाई मोसो दलेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ । कार्यालय प्रमुख केसीले अमानविय व्यवहार गर्ने विरुद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा मुद्दा दर्ता गर्नुभएको थियो ।

अन्य

भिडियो