नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भदौ ७ गते आयोजना गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा समान्य रहेको छ ।
नेकपाका कार्यकर्ताहरुले उद्योग तथा व्यापार व्यवसाय र पसलहरु बन्द गर्न थालेपछि प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका १२ जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेकोे छ ।
बन्दका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी बजार पूर्ण रुपमा बन्द हुनुको साथै धनगढीबाट लामो दुरीका लागि सञ्चालन हुने यातायातका साधनहरु समेत सञ्चालन हुन नसकेपछि नागरिकहरु आवातजावत गर्न पाउने अधिकारबाट समेत वञ्चित भए ।
बन्दका कारण सुदूरपश्चिम प्रदेशका सम्पूर्ण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको पठनपाठन हुन सकेन् । कलकारखाना, उद्योग, व्यापार तथा व्यवसाय पूर्ण रुपमा बन्द भएका भएपनि यस प्रदेशमा अप्रिय घटनाहरु भने भएको पाइएन ।
कैलाली जिल्ला गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन खडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिवर नजिकै प्रसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजन टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार नेत्र विक्रम चन्द – विप्लव) नेतृत्वको नकपा लगायत चार ओटा कम्युनिष्ट पार्टीको आयोजनामा गरिएको नेपाल बन्दको क्रममा दिपायल बजार बन्द गराउँदै हिडेका दुई जना बन्दकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेकपाका जिल्ला समिति सचिवालय सदस्य मोहन कठायत र सोही पार्टी निकट विद्यर्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा डोटी जिल्ला इन्र्चाज प्रकाश कठायत रहेका छन ।
बन्दका कारण जिल्लामा यातायात साधन र शैक्षिक सस्था सञ्चालन हुन सकेनन भने बजार पूर्ण रुपमा बनद रहेको थियो ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार पसल र बजार बन्द गराउँदै हिडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भरत गिरिले बताउनु भयो । गिरफ्तार हुनेमा नेकपाका भरत विक, अनिल घरेडीर ललित एसके रहेका छन् ।
सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफ्ना पार्टीका नेता ÷ कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनामा राखिएका नेता कार्यकर्ताहरु रिहा हुने पर्ने, असमान सन्धि सम्झौता खारेज ,महंगी भ्रष्टाचार नियन्त्रण लगायतका माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले बन्दको घोषणा गरेको थियो ।
बन्दको सबै भन्दा बढी प्रभाव विद्यार्थीहरुमा परेको छ । शिक्षण संस्थाहरु सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको छ । सवारी साधनहरु सञ्चालन नहुँदा गन्तब्यमा हिडेका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ । बन्दका कारण व्यापारव्यवसाय, कलकारखाना र उद्योग सञ्चालनमा आउन सकेनन् ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार सदरमुकाम मार्तडी, बुढीगंगा नगरपालिकाको कोल्टिमा बन्दको आह्वन गर्दै हिडेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नकपाका १० जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सदरमुकाम मार्तडी र कोल्टि बजारमा पर्चा पम्प्लेट टास्दै गरेको अवस्थामा नेकपाका १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिन्द्र बोगटीले बताउनु भयो ।
गिरफ्तार हुनेमा नेत्र विक्रम चन्द( विप्लव) नेतृत्वको नकपाका जिल्ला सचिव तथा जगन्नाथ गाउँपालिका– २ हुनीका ३६ वर्षीय भुपेन्द्र विक, जगन्नाथ गाउँपालिका नाराकोट निवासी नेकपाका जिल्ला सहसचिव ३५ वर्षीय मनबहादुर रावत (मधु विलास), बुढिनन्दा नगरपालिका–१० सेलापाखा निवासी जिल्ला एरिया सचिव २९ वर्षीय शुक्र नेपाली, स्वामीकार्तिक खापर गाउँपालिका–१ का ३० वर्षीय नविन बिक, सोही ठाउँका ४६ वर्षीय बिरसिंह बिक, २४ वर्षीय शिशिर शाही ठकुरी, १९ वर्षीया संगिता चदारा, १९ वर्षीय बिकाश कडारा, १९ वर्षीया प्रकाश चदारा र स्वामीकार्तिक खापर गाउँपालिकाका घर भई नेत्र विक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज ३१ वर्षीय विमल शाही रहेका छन् ।
बन्दका कारण जिल्लास्थित शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहदा विद्यार्थीहरु पठनपाठनबाट वञ्चिन हुनु परेको छ भने यातायातका साधनहरु सञ्चालनमा आउन नसेकेपछि स्थानीयहरु आवातजावात गर्न पाउने अधिकारबाट समेत वञ्चित हुनु परेको छ ।


