जुगल गाउँपालिका–५ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन ।
कृषि प्राविधिकको सल्लाह नपाउँदा उहाँले खेतमा लगाएको धानमा डडुवा रोगले ग्रस्त बनाएको बताउनुभएको छ ।
कृषि प्राविधिकको सल्लाह लिएर उपचार गर्न पाएको भए धानमा लागेको रोग निको हुन्थ्योहोला ।
तर, प्राविधिक नपाउदा यस वर्षको मेहनत त्यसै खेर जाने हो की भन्ने चिन्ता लागेको घिमिरेको गुनासो छ ।
सोही गाउँपालिका–४ का रुद्रप्रसाद अधिकारीको पनि गुनासो त्यस्तै छ । ‘खै अब त गाउँगाउँमा सिंहदरवार आयो भन्छन् ।
तर, हामी किसानको खेतबारीमा लगाएको बालिमा रोगलाग्दा कृषि प्राविधिक पाएनौं’ ।
‘माटो अनुसारको बालिनालि लगाउदाहोस् वा लगाएको बालिनालिमा किरा लाग्दाहोस् के गर्ने भनेर प्राविधिकको सल्लाह पाइदैन’ । कृषक सावित्री घिमिरेले गुनासो गर्नुभयो ।
भौगोलिक रूपले जिल्लाकै सबैभन्दा ठूलो जुगल गाउँपालिकाले “एक गाउँ एक कृषि प्राविधिक” कार्यक्रम सञ्चालन गरिरहेको भने पनि पर्याप्त कृषि प्राविधिक नहुँदा कृषकहरूले प्राविधिक सेवा पाउन सकेका छैनन् ।
सात ओटा वडा रहेको यस गाउँपालिकामा तीन जना मात्र कृषि प्राविधिकहरू रहेको गाउँपालिकाको कृषि शाखा प्रमुख लालबाहादुर बयकले बताउनुभयो ।
तीनजना पनि कार्यक्रम अवधिभरका लागि करारका कर्मचारी हुन् । त्यसमा पनि एकजनाले गाउँपालिकाको कृषि शाखामा बसेर प्रशासनको काम गरेर बस्नु पर्ने भएकाले दुई जना प्राविधिक कृषकहरूको खेतवारीमा पुग्न त परैजाओस सल्लाह लिन कार्यालयमा आएका कृषकहरूलाई सल्लाह दिन समेत नभ्याएको प्रमुख बयकले बताउनुभयो ।
प्रयाप्त प्राविधिकहरूको अभावमा गाउँ गाउँमा कृषि प्राविधिकहरू पठाउन नसकेको जुगल गाउँपालिका कृषि शाखा प्रमुख बयकले बताउनु भयो ।
किसानको खेतबारीमा पुगेर सेवा दिने भनिएको भए पनि प्राविधिकको अभावले सो पुरा गराउन नसकेको उहँको भनाई छ ।
समयमा मल विउ नपाउने समस्या त छदैछ । तर, कृषकले लगाएको बालिमा रोग लाग्दा कृषि प्राविधिकको सल्लाह नपाउदा कृषि उत्पादनमा कमी आएको जुगल गाउँपालिका–५ का वडाअध्यक्ष रविन्द्र घिमिरेले बताउनु भयो ।