जिल्लाका आठ ओटा मतदानस्थल परिर्वतनका लागि निर्वाचन आयोगलाई सिफारिस गरिएको प्रदेश १, निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाका आठ ओटा मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको प्रदेश निर्वाचन अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल संयोजक रहेको समितिले भदौ ५ गते जिल्लाका आठ ओटा मतदानस्थल परिर्वतनका लागि सिफारिस गरेको हो ।
जिल्लामा ३ सय ओटा मतदानस्थल र ८ सय २० ओटा मतदान केन्द्र छन् । ति मध्ये साँघुरो र अपायक पर्ने स्थानमा रहेका आठ ओटा मतदानस्थल परिर्वतनका लागि सिफारिस गरिएको प्रदेश निर्वाचन अधिकृत लेवनकश्यप अधिकारीको भनाइ छ ।
कटहरी गाउँपालिका–३ को कार्यालयमा रहेको मतदानस्थललाई जनप्रिय माध्यमिक विद्यालयमा, सोही गाउँपालिका–७ को लक्ष्मी आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई सोही वडाको वडा कार्यालयमा, विराटनगर महानगरपालिका–८ को सप्तकोसी बोर्डिङलाई श्रीशिशु निकुञ्ज आधारभूत विद्यालयमा सार्नका लागि सिफारिस गरिएको छ ।
बुढीगङ्गा गाउँपालिका–२ को हेल्थपोष्टबाट लिलाभक्त आधारभूत विद्यालयमा, रतुवामाई नगरपालिका–५ को उपस्वास्थ्य चौकीबाट वडा कार्यालयमा, धनपालथान गाउँपालिका–२ को लाकेश्वर आधारभूत विद्यालयबाट अमाहीवरियती स्वास्थ्य चौकीमा, बेलबारी नगरपालिका–८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यायमा र केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिकाको कार्यालयबाट केयू एकेडेमीमा मतदानस्थल परिर्वतनका लागि सिफारिस गरिएको छ ।
निर्वाचन कार्यालयले मतदाता बढी भएका मतदानस्थलमध्ये जिल्लाका केही मतदानस्थल टुक्राउन सिफारिस गरेको छ ।
निर्वाचन कार्यालयले मतदाता बढी भएको बेलबारी नगरपालिका–१ मा रहेको जनएकता स्कूलबाट नगरपालिकाको कार्यालय, सोही नगरपालिकाको लक्ष्मी आधारभूतबाट मतदान स्थल टुक्र्याएर लक्ष्मी उपभोक्ता सामुदायिक वनमा मतदानस्थल थप गर्न सिफासिर गरिएको छ ।
रङ्गेली नगरपालिका–४ को गणेश माध्यमिक विद्यालयबाट जनता माध्यमिक विद्यालयमा, कानेपोखरी गाउँपालिका–६ को जनसेवा माविबाट पञ्चज्योती आधारभूत विद्यालयमा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ ।
केराबारी गाउँपालिका–४ को जनकल्याण माविबाट जहदम्बी आधारभूत विद्यालयमा, सोही गाउँपालिकाको–९ को रामवीर आभारभूत विद्यालयबाट बुद्ध माविमा र मिक्लाजुङ गाउँपालिका–१ को टाडी मावि मतदानस्थललाई टुक्राएर मनोहर माविमा थप गर्न सिफारिस गरिएको छ ।